
सभामुख अर्याल स्वदेश फिर्ता
काठमाडौं । प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन् । तान्जानियामा भएको आइपीयुको बैठकमा सहभागी भइ सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार दिउँसो स्वदेश फर्किएका हुन् ।
आईपीयूको बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिएको जलवायुसम्बन्धी विपद्को सम्बोधन र हिमाल तथा अन्य संवेदनशील क्षेत्रमा उत्थानशीलता सुदृढ गर्ने सम्बन्धी इमर्जेन्सी प्रस्ताव दुईतिहाइ मतसहित पारित भइ छलफल समेत भएको भ्रमणमा सहभागी संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । नेपालको संसदीय इतिहासमा पहिलो पटक इमर्जेन्सी प्रस्ताव दुईतिहाइ मतले पारित भई छलफल भएको ऐतिहासिक सफलता भएको उनले बताए ।
त्यस्तै, भ्रमणका क्रममा युवा सांसदहरूको मञ्चमा युवा नेतृत्व, संसदीय सहभागिता तथा दिगो विकासका विषयमा विभिन्न देशका युवा सांसदहरूसँग विचार आदानप्रदान भएको महासचिव पाण्डेयले जानकारी दिए ।
भ्रमणका क्रममा अष्ट्रेलिया, बेलायत, चीन, भुटान र संयुक्त अरब इमिरेट्स लगायतका देशका संसदीय प्रतिनिधिमण्डलहरूसँग द्विपक्षीय भेटवार्ता तथा साइडलाइन छलफल भएको उनले बताए ।


