
बूढीगण्डकी बाढीमा हिमपहिरो पनि जिम्मेवार
काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीमा हिमपहिरोसहित ठूलो पहिरोको भूमिका रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक प्रतिवेदनले देखाएको छ।
चुमनुब्री गाउँपालिका–६ स्थित उङ्दिलुङ खोलाको सिरानमा करिब ६ हजार मिटरको उचाइमा हिमपहिरो गएको र त्यससँगै हिउँ, पानी तथा गेग्रानसहितको ठूलो पहिरो खसेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार २०८३ असोज २५ गते बिहान करिब ४ः२० बजे चामर हिमाल र स्येराङ्गी हिमालको बीचमा रहेको उङ्दिलुङ खोलाको उच्च हिमाली क्षेत्रमा उक्त घटना भएको थियो। त्यहाँको तुलनात्मक रूपमा कमजोर चट्टान खसेर करिब ५ हजार ५०० मिटरको उचाइमा रहेको हिमनदी (ग्लेसियर) र गेग्रानसमेत बगाएको प्रारम्भिक आकलन छ।
खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलनअनुसार उक्त पहिरोका कारण करिब ३.५ म्याग्निच्युडको भूकम्प बराबरको शक्ति पनि उत्पन्न भएको थियो। पहिरोबाट निस्किएको हिउँ, पानी र गेग्रानको ठूलो प्रवाह उङ्दिलुङ खोलाको ठाडो खोँच हुँदै दक्षिणतर्फ बगेको थियो। प्रवाहले खोलाका दुवै किनारमा करिब ३०० मिटर माथिसम्म असर पारेको प्रतिवेदनमा उल्लेख छ।
करिब २ हजार मिटरको उचाइमा रहेको उङ्दिलुङ खोला र स्यार खोलाको साँघुरो दोभानमा ठूलो परिमाणमा गेग्रान एकैपटक जम्मा हुँदा स्यार खोलाको बहाव अवरुद्ध भएको र पछि खुलेको देखिएको छ। यस्तै प्रक्रिया स्यार खोला र बूढीगण्डकी नदीको दोभानमा समेत भएको हुन सक्ने प्राधिकरणको आकलन छ।
बाढीको सतह बढाउन गेग्रानको ठूलो भूमिका
प्राविधिक प्रतिवेदनले स्यार खोला थुनिएर जम्मा भएको पानीभन्दा उङ्दिलुङ खोलाबाट आएको ठूलो परिमाणको गेग्रानले बूढीगण्डकी नदीमा बाढीको सतह बढाउन उल्लेखनीय भूमिका खेलेको औँल्याएको छ। यही प्रक्रियाका कारण तल्लो क्षेत्रमा पटक–पटक बाढी आएको देखिएको प्रतिवेदनमा उल्लेख छ।
बाढीको सबैभन्दा ठूलो सतह आउनुभन्दा करिब एक घण्टाअघि स्यार खोलाको बहाव रोकिएको थियो। स्थलगत अवलोकनअनुसार स्यार खोलाको माथिल्लो क्षेत्रमा करिब डेढ किलोमिटरसम्म पानी जम्मा भएको पाइएको छ। ठूलो बाढी आएपछि पनि तुलनात्मक रूपमा साना बाढीका थप सतहहरू आएको प्रतिवेदनमा उल्लेख छ।
सल्लेरीमा २० देखि २५ मिटरसम्म उठ्यो बाढी
प्रतिवेदनअनुसार लेदो र गेग्रानसहितको बाढी पहिलोपटक बिहान करिब ४ः३० बजे सल्लेरी पुगेको थियो। त्यसपछि बाढीको सबैभन्दा ठूलो सतह बिहान करिब ६ः३० बजे सल्लेरीस्थित जलविद्युत् आयोजनाको क्याम्पमा पुगेर त्यसलाई बगाएको थियो।
त्यहाँ बाढीको सतह करिब २० देखि २५ मिटरसम्म पुगेको आकलन गरिएको छ। बाढीको उक्त ठूलो सतहका कारण तल्लो क्षेत्रमा विशेषगरी जगतमा रहेका केही भवन, सोती खोला र बूढीगण्डकी नदीमाथिका पक्की पुललगायत संरचनामा मुख्य क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।
माटोको मात्रा बढी
यो बाढीमा बालुवा र साना–ठूला ढुंगाको तुलनामा माटोको मात्रा बढी रहेको प्राविधिक प्रतिवेदनले जनाएको छ। माटोको मात्रा बढी भएकाले बाढीमा चिप्लो, बाक्लो र बिस्तारै बग्ने लेदोको प्रवाह (भिस्कस मड फ्लो) को विशेषता देखिएको थियो।
घटनास्थलको उद्गम क्षेत्रमा पाइने पत्रे चट्टान र गेग्रानमा माटोको मात्रा तुलनात्मक रूपमा बढी हुनु यसको प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ। यस्तो प्रवाहले नदीको बहावमा ठूलो परिमाणमा गेग्रान मिसाउनुका साथै तल्लो क्षेत्रका संरचनामा क्षति पुर्याउन सक्छ।
प्राधिकरणको प्राविधिक प्रतिवेदनले बूढीगण्डकीमा आएको बाढीलाई हिमपहिरो, ठूलो पहिरो, गेग्रानको तीव्र बहाव र नदी थुनिने तथा खुल्ने प्रक्रियासँग जोडेर व्याख्या गरेको छ। यसले उच्च हिमाली क्षेत्रमा हुने यस्ता घटनाको प्रभाव तल्लो नदी तटीय बस्ती र पूर्वाधारसम्म पुग्न सक्ने देखाएको छ।


