
नेपालको लगातार दोस्रो जित, एकदिवसिय जाेगिने सम्भावना बलियाे
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा आज ओमानलाई १ सय १३ रनले पराजित गरेको छ। नेपालको यो लगातार दोस्रो जित हो।
जितको लागि २ सय ६४ रनको चुनौती पछाएको घरेलु टोली ओमान ४० ओभरमा सबै विकेट गुमाएर १ सय ५० रनमा समेटियो। ओमानले खराब सुरूवात गर्यो। दोस्रो देखि दोस्रो देखि पाँचौं क्रमका ब्याटरले दोहोरो रन छुन सकेनन्। ओपनर जतिन्द्र सिंह पनि १८ रनमा आउट भए। ११.५ ओभरमा ६ विकेटको नोक्सानीमा ४१ रन मात्र बनाएको थियो।
निकै नाजुक अवास्थामा रहेको अवस्थामा कप्तान विनायक शुक्ला र जय ओडेड्राले सातौं विकेटको लागि ८३ रनको साझेदारी गर्दै केहि राहत दिलाए। जय २५ रनमा आउट भए।
विनायकले अर्धशतकीय पारी खेले। ८३ बल खेल्दै ६ चौका र १ छक्का सहित ७७ रन बनाए। उनी नन्दनको बलमा आउट भए। ओमानको लागि मात्र तीन खेलाडीले दोहोरो रन बनाए।
नन्दनले किफायती बलिङ गर्दै ६ ओभरमा १ मेडन सहित मात्र १२ रन दिएर ३ विकेट लिए। सन्दीप लामिछानेले पनि ३ विकेट नै लिंदा दीपेन्द्र सिंह ऐरीले २ विकेट झारे। करण केसी र ललित राजवंशीले समान १ विकेट लिए।
यसअघि ओमानको अल अमेरट क्रिकेट ग्राउण्डमा भएको खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ रोज्यो। निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो।
ओपनर आशिफ शेख ४ रनमा आउट हुँदा नेपालले १७ रन बनाएको थियो। यसपछि दोस्रो विकेटको लागि अर्जुन कुमाल र इशान पाण्डेले ६४ रनको साझेदारी गरे। इशान ३७ रनमा आउट भए। ४० रन बनाएर ओपनर अर्जुन पबिलियन फर्किए।
यसपछि रोहित पौडेल र बसिर अहमदले शतकीय साझेदारी गरे। चौथो विकेटको लागि १ सय ६ रनको साझेदारी गरेर बसिर ३७ रनमा आउट भए भने रोहितले अर्धशतक बनाए। उनले ५८ बल खेल्दै २ चौका र १ छक्का सहित ओडिआई करियरको १३ औं अर्धशतक पुरा गरे। उनी ६१ रनमा आउट भए। रोहितले क्यानाडाविरुद्ध शतक बनाएका थिए।
दीपेन्द्र सिंह ऐरी २२ रनमा र सन्दीप जोरा १० रनमा आउट भए। यतिखेर नेपालले ४६ ओभर १ बलमा २ सय १६ रन बनाउँदा ७ विकेट गुमाएको थियो। यसपछि करण केसीले विष्फोटक ब्याटिङ गरे। १६ बलमा १ चौका र ४ छक्का सहित अविजित ४० रनमा क्रिजमा रहे।
बलिङमा साह फैसल, सकिल अहमद र करण सोनाभालेले २/२ विकेट लिए।
यो नेपालको १३ औं जित हो। २८ अंक सहित छैटौं स्थानमा कायमै छ। ओमान ३३ अंक सहित चौथो स्थानमा छ। अब नेपालले तेस्रो खेल शनिबार क्यानडासँग खेल्नेछ। यसअघि नेपालले क्यानडालाई २४ रनले हराएको थियो।


