
काँग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड
पोखरा । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताएका छन् ।
पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाले आज यहाँ आयोजना गरेको शोक सभामा उनले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताए । सभापति थापाले काँग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान दिएका सबैको पार्टी भएको बताए ।
सभामा दिवङ्गत नेता गुरुङले पार्टी र समाजमा पुर्याएको योगदानको स्मरण गरिएको थियो । कार्यक्रममा काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक सहभागी थिए ।


