
नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज
काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भ्वाइस प्याकेजसहितको ‘दसैँ-तिहार अफर २०८३’ सार्वजनिक गरेको छ ।
कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ ‘फाइबर टु द होम (एफटिटीएच) प्याकेज लिने गर्ने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा, भ्वाइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन् ।
टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार यही असोज २५ गतेदेखि आगामी कात्तिक ३० गतेसम्म नयाँ एफटिटीएच प्याकेज जडान गर्ने ग्राहकलाई रु ५०० जडान शुल्क मिनाहा गरिनेछ ।
त्यस्तै, १००, १५० र २०० एमबिपिएस क्षमताका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा पाउने उहाँले जानकारी दिए । यसअनुसार ग्राहकले १२ महिनाको शुल्कमा १३ महिनासम्म इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् । बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म उपलब्ध हुनेछ ।
भर्चुअल सेट-टप बक्ससहितको प्याकेज लिने ग्राहकका लागि रु एक हजार छुटको सुविधा यसअघि उपलब्ध रहेको कम्पनीले जनाएको छ । मोबाइल डाटामा रु ४९९ र रु ६९९ का प्याकेजअन्तर्गत जिएसएम मोबाइल सेवाका ग्राहकका लागि रु ४९९ मा पाँच जिबी दैनिक उच्चगतिको डाटासहितको ‘फेस्टिभल अनलिमिटेड’ र रु ६९९ मा १० जिबी दैनिक उच्चगतिको डाटासहितको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज उपलब्ध हुनेछन् ।
कम्पनीका अनुसार रु ४९९ को प्याकेजमा प्रतिदिन पाँच जिबी डाटा खपत भएपछि बाँकी समयावधिमा दुई एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिनेछ । त्यसैगरी, रु ६९९ को प्रिमियम प्याकेजमा प्रतिदिन १० जिबी डाटा खपत भएपछि बाँकी समयावधिमा तीन एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रवक्ता लामिछानेले बताए ।
टेलिकमले भ्वाइस तथा सन्देश सेवामा पनि सहुलियत दरका प्याकेज ल्याएको छ । यसअन्तर्गत रु २०० मा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ । त्यस्तै, रु ९९ मा आफ्नै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि खरिद गर्न सकिनेछ । यी मोबाइल प्याकेजको समयावधि ३० दिनको हुनेछ ।
मोबाइलबाटै प्याकेज खरिद गर्न सकिने
कम्पनीका अनुसार कात्तिक ३० गतेसम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकले उक्त अफरअन्तर्गतका सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन् ।


