
इरान युद्धमा अमेरिकाका ८१ सैन्य विमानमा क्षति, ३.३ अर्ब डलरसम्मको नोक्सानी
काठमाडौं । इरानविरुद्ध अमेरिकाले यसै वर्ष सुरु गरेको सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ का क्रममा लडाकु विमान र मानवरहित विमान (ड्रोन) सहित अमेरिकाका कम्तीमा ८१ सैन्य विमान नष्ट वा क्षतिग्रस्त भएका छन् । अमेरिकी संसद्लाई बजेटसम्बन्धी अनुसन्धान र विश्लेषण उपलब्ध गराउने गैरदलीय सरकारी निकाय कंग्रेसनल बजेट अफिस (सीबीओ) ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उक्त तथ्याङ्क उल्लेख छ ।
प्रतिवेदनअनुसार अगस्ट १ सम्म इरानविरुद्धको अमेरिका–इजरायल युद्धमा अमेरिकी विमानहरू नष्ट वा क्षतिग्रस्त हुँदा ३ अर्ब ३० करोड अमेरिकी डलरसम्मको क्षति भएको अनुमान गरिएको छ । प्रतिवेदनले फेब्रुअरी २८ मा सुरु भएको युद्धको बढ्दो आर्थिक भारलाई उजागर गरेको छ । द्वन्द्व आठौँ महिनामा प्रवेश गर्दा पनि स्थायी युद्धविराम हुन सकेको छैन । पूर्वसैन्य अधिकारी तथा सरकारी परामर्शदाता संस्था किल्लोवेन ग्रुपका अध्यक्ष हार्लान उलम्यानले युद्धमा देखिएको असमानताले सानो सैन्य शक्ति भएका देशले पनि विश्वकै शक्तिशाली सेनालाई क्षति पुर्याउनसक्ने देखाएको बताए ।
अलजजिरासँग कुरा गर्दै उनले इरानले अमेरिकी सैन्य उपकरण र मध्यपूर्वमा रहेका सैन्य आधारहरूमा क्षति पुर्याउन केही हदसम्म सफलता हासिल गरेको बताए । ‘इरानका लागि अमेरिकी सैन्य संरचनाहरू धेरै निशानामा उपलब्ध छन् । एउटा सानो ड्रोनले ठूलो सैन्य सम्पत्तिमा कस्तो क्षति पुर्याउनसक्छ भन्ने कल्पना गर्न सकिन्छ । द्वन्द्वका क्रममा खाडी क्षेत्रका देशहरूमा यस्ता उदाहरण देखिएका छन्,’ उलम्यानले भने ।
सोमबार सार्वजनिक प्रतिवेदनमा क्षति पुगेका वा नष्ट भएका विमानमध्ये १२ वटा एफ–१५ ई स्ट्राइक इगल लडाकु विमान, एउटा एफ–३५ ए लाइटनिङ टु लडाकु विमान र सातवटा केसी–१३५ स्ट्राटोट्याङ्कर हवाई इन्धन भर्ने विमान रहेको उल्लेख छ । प्रतिवेदनमा पहिचान गरिएका ८१ विमानमध्ये ४५ वटा एमक्यू–९ रिपर ड्रोन छन् ।
युद्धको बदलिँदो स्वरूप
उलम्यानजस्ता विज्ञहरूले अमेरिकी सैन्य संरचनामा देखिएका केही कमजोरीलाई आधुनिक युद्धको बदलिँदो स्वरूपसँग जोडेर हेरेका छन् । पछिल्लो समय कम लागतमा उपलब्ध हुने ड्रोनको प्रयोग युद्धमा बढ्दै गएको छ । रुसले युक्रेनमाथि गरेको युद्धलाई यसको उदाहरणका रूपमा प्रस्तुत गर्ने गरिएको छ । युक्रेनजस्तो तुलनात्मक रूपमा सानो सैन्य शक्ति भएको देशले ड्रोन युद्धको प्रयोग गरेर ठूलो सैन्य शक्तिलाई चुनौती दिइरहेको छ ।
इरान युद्धका क्रममा अमेरिकी सैन्य सामग्री राखिएको बेलायतको रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड सैन्य आधारमा ड्रोन आक्रमण हुन सक्ने आशङ्कासम्बन्धी चर्चा चलेपछि आइतबार अमेरिकाका करिब एक दर्जन विमान अचानक त्यहाँबाट अन्यत्र सारिएका थिए ।
उलम्यानले यस्ता घटनाले ड्रोन आक्रमणको जोखिमका कारण ठूला सैन्य शक्तिसमेत रक्षात्मक अवस्थामा पुग्न सक्ने देखाएको बताए । ‘इरानी आक्रमणको आशङ्कामा अमेरिकाले बेलायतबाट आफ्ना बी–१ बमवर्षक विमानहरू अन्यत्र सार्नुपरेको हामीले देख्यौँ । त्यस्तै, युक्रेनले रुसभित्रैबाट साना ड्रोन प्रक्षेपण गरेर रुसी सैन्य संरचनालाई निशाना बनाएको ‘अपरेसन स्पाइडरवेब’ मा पनि यस्ता घटना देखिएका थिए,’ उनले भने ।
युद्धको लागतले बढायो राजनीतिक दबाब
इरानविरुद्धको युद्धमा बढ्दै गएको खर्चले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमाथि राजनीतिक दबाबसमेत बढाएको छ । यसै वर्ष ट्रम्प प्रशासनले युद्धका आवश्यकतालाई कारण देखाउँदै सन् २०२७ को आर्थिक वर्षका लागि रक्षा खर्चमा कीर्तिमानी १.५ ट्रिलियन अमेरिकी डलर विनियोजन गर्न आग्रह गरेको थियो । तर, बढ्दो खर्चलाई लिएर अमेरिकी संसद्मा विशेषगरी डेमोक्र्याटिक पार्टीका सांसदहरूले प्रश्न उठाएका छन् ।
गत महिना ४५ जना डेमोक्र्याटिक सिनेटर र एक स्वतन्त्र सिनेटरले रक्षामन्त्री पिट हेगसेथलाई खुला पत्र लेख्दै युद्धमा भएको खर्चको पारदर्शी विवरण सार्वजनिक गर्न माग गरेका थिए ।उनीहरूले थप बजेट उपलब्ध गराउने विषयमा संसद्ले विचार गर्नुअघि युद्धको खर्चको विस्तृत विवरण आवश्यक रहेको बताएका थिए ।
‘अमेरिकी करदाताले पेट्रोल र डिजेलको मूल्य बढ्दा मात्रै आफ्नो खल्तीबाट थप १०० अर्ब डलर खर्च गरिसकेका छन् । युद्धका कारण खाद्यान्न, घरकर्जा र हवाई टिकटजस्ता वस्तु तथा सेवाको मूल्य बढ्दा थप कम्तीमा ६० अर्ब डलर खर्च भएको छ,’ सिनेटरहरूले पत्रमा लेखेका थिए, ‘अब तपाईंहरू अमेरिकी नागरिकसँग फेरि पैसा माग्दै हुनुहुन्छ । यो यस्तो युद्धलाई वित्तीय सहयोग गर्नका लागि हो, जसलाई संसद्ले कहिल्यै अनुमति दिएको थिएन र राष्ट्रपतिले कुनै रणनीतिक योजना बिना सुरु गरेका थिए ।’
कंग्रेसनल बजेट अफिसले सेप्टेम्बरमा सार्वजनिक गरेको छुट्टै प्रतिवेदनमा अगस्ट १ सम्म इरानसँगको युद्धमा करिब ३८ अर्ब अमेरिकी डलर खर्च भइसकेको अनुमान गरेको थियो । उक्त रकममा युद्धका क्रममा प्रयोग भएका हतियार र नष्ट भएका सैन्य उपकरण प्रतिस्थापन गर्ने खर्च, इन्धनको बढ्दो मूल्य तथा अन्य सैन्य कारबाहीको लागत समावेश छ । ‘द्वन्द्व थप एक महिना लम्बिएमा दुई अर्ब डलर खर्च हुनेछ,’ प्रतिवेदनमा भनिएको छ । तर, द्वन्द्वको तीव्रता जुलाईमा देखिएको स्तरसम्म बढेमा मासिक खर्च तीन अर्ब डलरसम्म पुग्न सक्ने पनि कार्यालयले जनाएको थियो ।
सर्वेक्षणहरूले अमेरिकी मतदातामाझ युद्ध अलोकप्रिय रहेको देखाएका छन् । बढ्दो युद्ध खर्चसम्बन्धी विवरणले अमेरिकी मध्यावधि निर्वाचनमा प्रभाव पार्न सक्ने विषयमा पनि विश्लेषकहरूले चर्चा गरिरहेका छन् । उक्त निर्वाचनले ट्रम्पको रिपब्लिकन पार्टीले संसद्मा आफ्नो नियन्त्रण कायम राख्न सक्छ कि सक्दैन भन्ने निर्धारण गर्नेछ । तर, उलम्यानले सोमबार सार्वजनिक प्रतिवेदनले मध्यावधि निर्वाचनको परिणाममा निर्णायक प्रभाव पार्नेमा शङ्का व्यक्त गरे ।
‘मलाई लाग्दैन, यो प्रतिवेदनले आगामी मध्यावधि निर्वाचनको परिणामलाई प्रभावित पार्नेछ । युद्धको विरोध गर्ने अमेरिकी नागरिकले समेत सैन्य कारबाहीका क्रममा यस्तो क्षति हुनु अपेक्षित नै हो भन्ने ठान्न सक्छन्,’ उनले भने ।


