
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
बागमती। हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा आजभन्दा १० वर्षअघिसम्म शिक्षण पेसामा आबद्ध थिए । गणित विषयमा स्नातक तथा योजना व्यवस्थापनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लामाले मनहरी गाउँपालिका–१ मकरीस्थित बालजीवन ज्योति माध्यमिक विद्यालयमा अध्यापन गरिरहँदा उनमा कृषि उद्यमतर्फको रुचि जागेर आयो ।
आफ्नो रुचि र जाँगरसँगै परिवारको साथ र समर्थनका जगमा कृषिको व्यावसायिकतामा लागेका लामा अहिले हेटौँडाकै एउटा नमुना कृषि उद्यमीका रूपमा परिचित छन् । वि.सं २०७३ देखि बाख्रापालन थालेका उनी छ वर्षदेखि ड्रागनकोे खेती गर्दै आएका छन् । पदमपोखरीमा एमएनएस एग्रो प्रालि सञ्चालन गर्दै उनले त्यसै कम्पनिमार्फत करिब ३० कट्ठा जमिनमा ड्रागनखेती गरिरहेका छन् । त्यस्तै उनले ड्रागनखेतीसँगै विभिन्न अन्तरबाली पनि लगाएका छन् ।
उनको फार्ममा करिब १० मेट्रिकटन क्षमताको शीतभण्डार, पोलीहाउस संरचना, सिँचाइ पूर्वाधार तथा मिनीटिलर र ट्र्याक्टरसहितको यान्त्रिकीकरण उपयोग गरिएको छ । उनले फार्मसँगै कृषि सामग्रीका लागि मिमा सप्लायर्स र पशु स्वास्थ्यका लागि मिमा भेट फार्म पनि सञ्चालन गर्दै आएका छन् । समाजमा आधुनिक कृषि प्रविधिको विकाससँगै कृषि पर्यटन, रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ सुरुमा बाख्रापालनबाट उनले व्यावसायिकतामा हात हालेका हुन् । सुरुमा घरमा नै १५ वटा बाख्रा रहेकामा उनले क्रमशः बाख्रा थप्दै १०० वटासम्म बाख्रा पालेको अनुभव सुनाए ।
बुबा रत्नकुमार लामाले २०५३ सालदेखि पदमपोखरीमा सञ्चालन गर्नुभएको एग्रेभेटले जगाएको कृषिप्रतिको इच्छा, बुबासँगै आमा सुमित्राकुमारीको प्रेरणा र श्रीमती सपनाको निरन्तरको साथ र सहयोगले उनी कृषिका बहुविकल्पलाई अँगाल्ने कृषिउद्यमीका रूपमा परिचित बनेका छन् । शिक्षण पेसाबाट व्यावसायिक कृषिमा लम्कनका लागि पदमपोखरी चोकमा बुबा रत्नकुमारले सञ्चालन गर्दै आएको एग्रोभेट पसल महत्त्वपूर्ण माध्यम बन्न पुगेको उनको भनाइ छ ।
उक्त एग्रेभेटमा किसान सधैँ आफ्ना समस्या र समाधान खोज्दै आउने र त्यहाँ बस्दा किसानका कुरा सुनेपछि आफूहरू उत्पादनमा लाग्नुपर्छ भन्ने भावना जागृत बनेको उनले अनुभव सुनाए । नेपाल पूर्ण रूपमा आयातमा निर्भर भएका अवस्थामा उत्पादनमा नलाग्ने हो भने देशमा परिवर्तन आउन नसक्ने ठहरसहित आफू व्यावसायिक कृषिमा होमिएको उनको तर्क छ ।
कृषिको व्यावसायिकता तथा उत्पादनमूलक क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ बाख्रापालनबाट यस क्षेत्रमा लाँदैगर्दा ड्रागन फलको बजारमा उच्च मूल्य, बोयर बाख्राको उन्नत जात र सयपत्री फूलको बढ्दो माग आदिलाई दृष्टिगत गर्दै यसतर्फ आकर्षित बन्न पुगेको उनले बताए । ड्रागनबाट व्यावसायिक उत्पादन लिन कम्तीमा पाँच वर्षको धैर्यता चाहिने बताउँदै उनले फल पाक्नेबेला चराचुरङ्गीले करिब १० प्रतिशतसम्म क्षति पुर्याउने, ढुसीजन्य रोगको प्रकोप देखिनेजस्ता विभिन्न समस्या आउने बताए ।
आफ्नो फार्ममा चराबाट बचाउन ‘बर्ड नेट’ र फललाई सुरक्षित राख्न ‘ब्यागिङ’को काम गरिएको उनले जानकारी दिए । अन्तरबालीअन्तर्गत मेवा, सयपत्री आदिको समेत उत्पादन गर्दै आएका उनले वार्षिक ड्रागन फलबाट वार्षिक ३० लाख रुपैयाँ बराबरको उत्पादन गरेका छन् भने पाँच लाख रुपैयाँ बराबरको मेवा उत्पादन गरेका छन् ।
त्यस्तै, उनले वार्षिक एक लाख रुपैयाँसम्मको सयपत्रीको उत्पादन गरिहेका छन् । उनको फार्ममा हाल १० हजार बोट ड्रागन फलका बोटसँगै ५०० को सङ्ख्यामा मेवाका बोट रहेका छन् ।
लामाकोे फार्म पूर्ण रूपमा पारिवारिक जनशक्ति र ज्ञानमा आधारित रहेको छ । प्राविधिक अनुभवसहित उहाँका बुबा यसमा सक्रिय हुनुहुन्छ भने श्रीमतीको कृषिकै अध्ययन र आफू पनि स्नातकोत्तर गरेपछि जेटिए पढेर कृषिसम्बन्धी विशेष तालिम लिएका छन् । उनीहरूको परिवार सबै एकताबद्ध रूपमा फार्ममा खटिरहेको छ भने अन्य चार जना स्थायी कामदार रहेका छन् । मुख्य याममा भने थप ४०० जनासम्मका मजदुर खटाउने गरिएको छ ।
पछिल्ला वर्षमा फार्ममार्फत अरूलाई पनि सिकाएर कृषिमा काम गर्नसक्ने दक्ष बनाएको उनले बताए । यहाँको सफलता देखेर पछिल्ला समयमा ठाउँठाउँबाट उनीसँग जान्न र सिक्न आउनेको सङ्ख्या पनि बढ्दो छ । जान्न तथा बुझ्न चाहनेलाई आफूले जानेका, भोगेका सीप र अनुभव बाँड्दै आएका छन् ।
निरन्तरको लगाव र मेहनतकै कारण उनले स्थानीय तहदेखि प्रदेश र राष्ट्रियस्तरसम्मका विभिन्न उत्कृष्ट कृषक सम्मानसमेत प्राप्त गरिसकेका छन् । उनले २०७९ सालमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुरको आयोजनामा सञ्चालित जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लाबाट उक्त वर्षको उत्कृष्ट कृषकमा उनी छनोट भएका थिए ।
हेटौँडा उपमहानगरपालिकाको ५५औँ नगर दिवसका अवसरमा उनलाई एम एन एस एग्रो प्रालि स्थापना गरी ड्रगन फल, मेवा, खरबुजा, एभोकाडोलगायतका फलफूल, सयपत्री फूल, तरकारीखेती, नर्सरी र बाख्रापालन व्यावसायिक रूपमा सञ्चालन गरी स्वदेशमै रोजगारी सिर्जना गरी युवाका लागि प्रेरणाको स्रोत बनेको भन्दै सिर्जनकशील कृषक सम्मान २०८० बाट उनलाई सम्मान गरिएको थियो ।
प्रदेश कृषि थोकबजार हेटौँडा–११, थानाभर्याङमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा यसैवर्ष असार ११–१३ गते सम्पन्न ड्रागन फ्रुट महोत्सव–२०८३ को प्रविधि प्रदर्शन विधामा एम एन एस एग्रो प्रालिका सञ्चालकका रूपमा उनले प्रथम पुरस्कार प्राप्त गरेका थिए ।
लामाले आगामी दिनमा केबल उत्पादनमा मात्र नभई उत्पादित वस्तुको प्रशोधन गरी अन्य बहु प्रकृतिका उत्पादनलाई बजारमा लैजाने सोच राखेका छन् । उनले ड्रागन फलबाट जुस, क्यान्डी र वाइन बनाउने सोच अघि सारेका छन् ।
राज्यका प्रणालीगत समस्या समाधान गर्नुपर्ने सुझाव
कृषि क्षेत्रका प्रणालीगत रूपमा देखिएका समस्या समाधानका लागि राज्यको चासो पुग्नुपर्ने उनको भनाइ छ । कृषिप्रतिको आकर्षण बढाउनका लागि समयमा मल नपाइनु, गुणस्तरीय बीउको अभाव, कृषि बिमाको झन्झट र स्थिर बजार नहुनेलगायतका समस्या समाधानका लागि राज्यको चासो पुग्नुपर्ने उनको भनाइ छ ।
राज्यको नीतिहरू कृषकमैत्री बन्नुपर्ने बताउँदै उनले कृषिउपजको न्यूनतम समर्थन मूल्य निर्धारणसँगै डिजिटल बजारको पहुँच बढाउनु जरुरी रहेको बताए । राम्रो उत्पादनका लागि गुणस्तरीय बीउ आवश्यक हुने आफ्नो अनुभवले देखाएको बताउँदै उनले आफ्नो फार्ममा करिब पाँच हजार पुराना ड्रागन फलका बोट फालेर नयाँ बोट लगाएको जानकारी दिए ।
कृषिकर्मका लागि पारिवारिक सहयोग तथा समर्थन पनि उत्तिकै अपरिहार्य हुने उनको अनुभव छ । ‘मैले शिक्षण पेसा छोडेर कृषिमा लाग्दा सुरुसुरुमा धेरैले धेरै कुरा भने’, उनले विगत सम्झँदै भने, ‘आफ्नो व्यावसायिक यात्रामा बाहिरका व्यक्तिले के भन्छन्भन्दा पनि आफ्नो निरन्तरको लगाव र परिवारको साथ सहयोगले नै मलाई यो अवस्थामा पु¥याएको हो ।’
लामाले गरेको व्यावसायिक कृषिको सिको पछिल्लो समयमा यहाँका धेरै स्थानीयले गर्न थालेका छन् । पछिल्ला समयमा पदमपोखरीमा व्यावसायिक कृषिको विकासका लागि हेटौँडा उपमहानगरपालिकासहित सरकारी निकायले पनि निरन्तर साथ सहयोग पुर्याइरहेको उनले बताए । पदमपोखरीमा व्यावसायिक कृषिप्रतिको आकर्षण र सम्भावना देखेर नै कृषि विकास कार्यालय चितवनमार्फत समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यकमअन्तर्गत मेवाखेती गरिएको छ ।
आधामा र कृषक समूहका रूपमा यहाँका यहाँका १०४ जना कृषक समूहमा आबद्ध भई मेवाखेती गरिरहेको समूहका अध्यक्षसमेत रहेका लामाले जानकारी दिए । उनका अनुसार पदमपोखरीमा मात्रै हाल ३० हजार सङ्ख्यामा मेवाका बोट रहेका छन् ।
राम्रो मेहनत गर्नसकेमा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था नरहेको बताउँदै उनले स्वदेशमा नै व्यावसायिक कृषिबाट स्वरोजगार बन्दै अरूलाई पनि रोजगारी दिन सकिने अनुभव सुनाए । ‘यहीँ केही गर्नसकेमा इज्जतसँगै पैसा पनि कमाउन सकिन्छ’, उनले थपे, ‘हाम्रो यहाँको भूगोलमा व्यावसायिक कृषिका धेरै सम्भावना रहेका छन्, तर यसप्रतिको लगाव तथा समर्पण भने अपरिहार्य छ ।’ कृषिउद्यमलाई पर्यटनसँग पनि जोड्न सकिने बताउँदै उनले देशको आर्थिक समृद्धिका लागि कृषि उपयुक्त विकल्प भएको बताए ।


