
उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग
काठमाडौं । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् ।
टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेको सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताए । टोलीले चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहेका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको हो ।
व्यवसायीको आग्रहपछि सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्धन निर्माण र नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाएको अध्यक्ष सुवेदीले जानकारी दिए । सभापति लामिछानेले छिट्टै टोली पठाएर अध्ययन गरी काम अघि वढ्ने आश्वासन दिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।


