
संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति छैन : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी र कर्मचारीले गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले मन्त्रालयभित्र पदीय हैसियतको दुरुपयोग गर्दै संवेदनशील सूचना बाहिरिने घटनालाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्।
उनले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गर्दै पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने स्पष्ट पारे। उनका अनुसार सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीले समेत अपराध नियन्त्रण, अनुसन्धानको प्रगति तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।
गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकैलाई पनि छुट नदिइने चेतावनी दिएका छन्। “आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ,” उनले भने।


