
तीन निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कारबाही गर्दै शंकरमाली निर्माण सेवा प्रालि र मान शाही निर्माण सेवालाई तीन–तीन वर्ष तथा कश्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो।
काठमाडौंको कोटेश्वरस्थित शंकरमाली निर्माण सेवाका मुख्य व्यक्ति दानबहादुर कार्की रहेका छन्। यस्तै, कालिकोटको खाडाचक्र–१ स्थित मान शाही निर्माण सेवाका मुख्य व्यक्ति सूर्यबहादुर शाही हुन्।
काठमाडौैंको कलंकीस्थित कश्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालिका सञ्चालक माधव घिमिरे र हरिप्रसाद घिमिरे रहेका छन्।
कार्यालयले सूचना प्रकाशित गरेको मितिदेखि लागू हुने गरी यी कम्पनीलाई तोकिएको अवधिका लागि कालोसूचीमा राखेको हो। कालोसूचीमा रहेको अवधिभर सम्बन्धित कम्पनीले सार्वजनिक निकायबाट हुने खरिद तथा बोलपत्र प्रक्रियामा सहभागी हुन पाउने छैनन्।


