
सेतीमा बेपत्ता डोटीकी शिक्षिकाको शव कैलालीमा भेटियो
धनगढी । डोटीमा सेती नदीमा हामफालेर बेपत्ता भएकी २२ वर्षीया शिक्षिका प्रियंका श्रेष्ठको शव कैलालीमा फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीकी श्रेष्ठ भदौ ३० गते दिपायल सिलगढी नगरपालिका–३ स्थित सेती नदीको झोलुङ्गे पुलबाट नदीमा खसेर बेपत्ता भएकी थिइन् ।
उनको शव बुधबार टीकापुर नगरपालिका–२ मूलपानीस्थित कर्णाली नदीको किनारमा फेला परेको प्रहरीले जनाएको छ । शव भेटिएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव टीकापुर अस्पतालको शवगृहमा राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक सागर बोहराका अनुसार बुधबार दिउँसो प्रियंकाका ठूला बुवा हेमचन्द्र श्रेष्ठले शवको पहिचान गरेका थिए ।
प्रहरीका अनुसार प्रियंका नदीमा हामफाल्नुको कारण अहिलेसम्म खुलेको छैन । उनको खोजीका क्रममा सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत परिचालन गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।


