
नेपालमा आगामी साता भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । मौसमविद्हरूले आगामी साता नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उत्तर अन्डमान सागर तथा आसपास न्यूनचापीय क्षेत्र विकसित भइरहेकाले उक्त प्रणाली बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार विभिन्न पूर्वानुमान मोडलले असोज ८ देखि १२ गतेसम्म नेपालमा उल्लेख्य वर्षाको सम्भावना देखाएका छन्। केही मोडलले ४०० मिलिमिटरभन्दा बढी तथा अधिकतम ७४१ मिलिमिटरसम्म वर्षा हुनसक्ने प्रक्षेपण गरेका छन्।प्रारम्भिक पूर्वानुमानअनुसार सुदूरपश्चिम र मध्य नेपालमा धेरै भारी वर्षाको सम्भावना देखिएको छ। बंगालको खाडीबाट विकसित प्रणाली र पश्चिमी वायुमण्डलीय प्रणालीबीच अन्तरक्रिया भए वर्षाको मात्रा अझ बढ्न सक्ने मौसमविद्हरूको आकलन छ।
मौसमविद्हरूका अनुसार प्रणाली सुस्त गतिमा अघि बढेमा वर्षा लामो समयसम्म जारी रहन सक्छ। चक्रवात विकास हुने वा नहुने विषय अझै निश्चित नभए पनि नेपालमा भारी वर्षाको सम्भावना भने कायमै रहेको बताइएको छ। विभागले २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षाका रूपमा वर्गीकरण गरेको छ। भारी वर्षासँगै बाढी, पहिरो तथा डुबानको जोखिम बढ्नसक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

