
सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो इन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको साझेदारीलाई निरन्तरता दिएको छ। एनपीएलको तेस्रो संस्करणमा पनि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्दै टोलीको यात्रामा साथ दिनेछ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गर्दै यसले दुई संस्थाबीचको विश्वास र सम्बन्धलाई थप मजबुत बनाएको बताए।
‘सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा हामी खुसी छौं। हाम्रो यात्रामा उहाँहरूले देखाउनुभएको विश्वास र निरन्तर साथलाई हामीले निकै महत्वपूर्ण रूपमा लिएका छौं। एनपीएलको तेस्रो संस्करणमा पनि उहाँहरूको साथले सुदूरपश्चिम रोयल्सलाई थप ऊर्जा दिनेछ। आगामी दिनमा पनि नेपाली क्रिकेटको विकाससँगै दुवै संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने विश्वास लिएका छौं’ खड्काले भने।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले खेलकुदमार्फत युवा प्रतिभा र नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्यले सुदूरपश्चिम रोयल्ससँगको सहकार्यलाई निरन्तरता दिएको बताए।
‘एनपीएल नेपाली क्रिकेटको विकास र नयाँ प्रतिभालाई अवसर दिने महत्वपूर्ण प्लेटफर्म बनेको छ। यस यात्रामा सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउनु हाम्रो लागि गर्वको विषय हो। आगामी संस्करणमा पनि टोलीको सफल यात्राका लागि शुभकामना व्यक्त गर्दै, हाम्रो साझेदारीले नेपाली क्रिकेटमा सकारात्मक योगदान पुर्याउने विश्वास लिएका छौं,’ क्षेत्रीले भने।

