
विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब, २१.८ महिनाको आयात धान्ने
काठमाडौं । २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले वृद्धि भई २०८३ साउन मसान्तमा ३९ खर्ब ४६ अर्ब २३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ साउन मसान्तमा २.१ प्रतिशतले वृद्धि भई २५ अर्ब ८४ करोड पुगेकोछ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८३ असार मसान्तमा ३४ खर्र्ब ७३ अर्ब १९ करोड रहेकोमा २०८३ साउन मसान्तमा १.३ प्रतिशतले वृद्धि भई ३५ खर्ब १७ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा.४ खर्ब २४ अर्ब ४८ करोड रहेकोमा २०८३ साउन मसान्तमा ०.९ प्रतिशतले वद्धि भई ४ खर्ब २८ अर्ब २२ करोड कायम भएको छ । २०८३ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

