
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । गत साता साढे १४ अंकले बढेको बजार यो साताको पहिलो दिन नै २५ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५.५५ अंकले बढेर २५८५.०४ विन्दुमा पुगेको छ । आज सेयर बजार करिब १ प्रतिशतले बढेको हो । सोमबार सेयर बजारमा २२६ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४७ कम्पनीको सेयर मूल्य घटेको दिन दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ४.३४ अंकले बढेर ४५८.२६ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको मूल्य बढेको छ भने एउटाको घटेको छ । परिसूचक बढेको दिन बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज ३३६ कम्पनीको १ करोड १५ लाख ९५ हजार ६५४ कित्ता सेयर ४९ हजार ७४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार ३०३ रुपैयाँको कारोबार भएको छ ।

