
सोप्याङखोलामा पहिरो खसेपछि त्रिभुवन राजपथ अवरुद्ध
काठमाडौं । पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध बनेको छ । गएराति ९ बजे धादिङको थाक्रे गाउँपालिका-७ सोप्याङखोलामा पहिरो खसेका कारण काठमाडौं-हेटौंडा जाने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो निरन्तर झरी रहेका कारण पन्छाउन समस्या भएको छ । बिहीबार बिहानैदेखि ४ वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । कृष्णभिरमा बाढीका कारण सडक भासिएपछि पृथ्वीराजमार्ग अवरुद्ध छ ।
पृथ्वीराजमार्ग बन्द भएपछि काठमाडौं भित्रिने-बाहिरिने सवारीसाधनहरूले हेटौंडा-काठमाडौं जोड्ने वैकल्पिक राजमार्गहरू प्रयोग गर्दै आइरहेका छन् । जसका कारण हेटौंडा-काठमाडौंका तीन रुटमा सवारीसाधनहरूको ठूलो चाप छ ।


