
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै त्यस्तो घटना पुनः दोहोरिन नहुने बताएकी छन्। जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक तथा डिजिटल सञ्जालबाट आवाज उठाएका नवयुवाको आवाज दबाउने क्रममा निर्दोष युवाहरूको ज्यान गएको उल्लेख गरेकी छन्।
उनले आन्दोलनका क्रममा धेरै युवा जीवनभर अपांगताको पीडा बेहोर्नुपर्ने गरी घाइते भएको बताएकी छन्। आन्दोलनमा सहिद भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
कार्कीले आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भएको र धेरै राष्ट्रिय सम्पदा तथा धरोहर गुमेको उल्लेख गरेकी छन्। राष्ट्रको जीवनमा लागेको उक्त घाउ सायदै कहिल्यै पुरिने उनको भनाइ छ। उनले सुशासन र परिवर्तनका लागि जनता फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन्।
कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको बताएकी छन्। उनका अनुसार सुशासन नभए संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन। उनले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने धारणा राखेकी छन्। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्ने उनको अपेक्षा छ।
जेनजी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै देश अहिले भोटेकोशी बाढीको अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको कार्कीले उल्लेख गरेकी छन्।
यस्तो दुःखद घडीमा अझ बढी धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुनुपर्ने भन्दै उनले एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गर्न आग्रह गरेकी छन्।

