
बाढीपीडितका लागि आइआइएमएस ग्रुपद्वारा ११ लाख ११ हजार १११ सहयोग

काठमाडौं । आइआइएमएस ग्रुपले बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
आइआइएमएस कलेज, अरन्या बुटिक होटल र टेलर्स क्याफे सम्मिलित आइआइएमएस ग्रुपको संयुक्त संस्थागत पहलअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो। कुल रु. ११,११,१११ को संस्थागत योगदानमध्ये टेलर्स क्याफेबाट रु. ५५,५५५, अरन्या बुटिक होटलबाट रु. २,२२,२२२ तथा बाँकी रु. ८,३३,३३४ आइआइएमएस कलेजबाट योगदान गरिएको हो।
शिक्षा, आतिथ्य तथा सेवा क्षेत्रमा क्रियाशील आइआइएमएस ग्रुपले व्यावसायिक तथा शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो संस्थागत दायित्वको महत्वपूर्ण हिस्साका रूपमा लिँदै आएको जनाएको छ।
आइआइएमएसका कर्मचारीबाट छुट्टै ५५ हजार ५५५ सहयोग
संस्थागत योगदानसँगै आइआइएमएस कलेजका कर्मचारीहरूले पनि व्यक्तिगत रूपमा रकम संकलन गरी रु. ५५ हजार ५५५ बराबरको छुट्टै सहयोग बाढी प्रभावित परिवारका लागि प्रदान गरेका छन्।
कर्मचारीहरूको स्वेच्छिक सहभागितामा संकलित उक्त सहयोगले विपद्को समयमा संस्थागत तहमा मात्र नभई व्यक्तिगत तहबाट समेत सामाजिक उत्तरदायित्व र मानवीय सहकार्यमा सहभागी हुनुपर्ने सन्देश दिएको आइआइएमएसले जनाएको छ।
आइआइएमएस साेल क्लबमार्फत विद्यार्थीहरूको छुट्टै राहत अभियान
यसैगरी, आइआइएमएसका विद्यार्थीहरूले आइआइएमएस साेल क्लबमार्फत छुट्टै विद्यार्थी नेतृत्वको राहत अभियान सञ्चालन गरेका छन्। साेल क्लबको नेतृत्वमा विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सहयोग संकलन गरी रु. ५४ हजार बराबरको राहत सामग्री जुटाएका छन्। संकलित राहत सामग्री बाढीबाट प्रत्यक्ष प्रभावित परिवार तथा समुदायसम्म पुर्याउने उद्देश्यले इको साथी संस्थालाई हस्तान्तरण गरिएको छ।
आइआइएमएसका अनुसार विद्यार्थीहरूले आफैं योजना बनाई सहयोग संकलनमा सहभागी हुनु र राहत सामग्री व्यवस्थापन गरी प्रभावित समुदायसम्म पुर्याउने अभियानमा जोडिनु यस पहलको महत्वपूर्ण पक्ष हो। यसले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, स्वयंसेवा, नेतृत्व, सहकार्य र समुदायप्रतिको संवेदनशीलता विकास गर्नसमेत सहयोग पुग्ने विश्वास कलेजले लिएको छ। यसरी बाढी प्रभावितका लागि सञ्चालन गरिएको सहयोग अभियानमा आइआइएमएस ग्रुपका संस्थाहरू, आइआइएमएसका कर्मचारी तथा विद्यार्थीहरू तीनै तहबाट छुट्टाछुट्टै सहभागिता जनाइएको छ।
आइआइएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सबिन्द्र महर्जनले विपद्का बेला संस्थाको जिम्मेवारी नियमित शैक्षिक तथा व्यावसायिक गतिविधिमा मात्र सीमित नहुने बताए। “संकटको समयमा हाम्रो जिम्मेवारी संस्था र व्यवसायमा मात्र सीमित हुँदैन। बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति हाम्रो ऐक्यबद्धतालाई व्यवहारिक सहयोगमा रूपान्तरण गर्ने प्रयासस्वरूप आइआइएमएस ग्रुपका तर्फबाट यो योगदान गरेका हौँ,” महर्जनले भने।
उनले संस्थागत योगदानसँगै कर्मचारी तथा विद्यार्थीहरूले आ–आफ्नो तहबाट छुट्टै पहल गर्नु अझ अर्थपूर्ण भएको बताए। “हाम्रा कर्मचारी र विद्यार्थीहरू स्वयं अगाडि बढेर सहयोग अभियानमा जोडिनु हाम्रा लागि रकमभन्दा पनि महत्वपूर्ण पक्ष हो। विशेषगरी विद्यार्थीहरूले साेल क्लबमार्फत देखाएको सक्रियताले शिक्षा कक्षाकोठा र डिग्रीमा मात्र सीमित हुँदैन भन्ने हाम्रो विश्वासलाई प्रतिनिधित्व गर्छ। समाजप्रति संवेदनशील, जिम्मेवार र आवश्यक परेको समयमा योगदान गर्न सक्ने नागरिक निर्माण गर्नु पनि शिक्षाको महत्वपूर्ण उद्देश्य हो,” उनले भने।
महर्जनले विपद्को व्यापकताको तुलनामा यो योगदान सानो प्रयास भए पनि धेरै व्यक्ति तथा संस्थाका प्रयासहरू एक ठाउँमा जोडिँदा त्यसले प्रभावित समुदायमा महत्वपूर्ण प्रभाव पार्न सक्ने बताए। “यति ठूलो विपत्तिको तुलनामा हाम्रो योगदान सानो प्रयास मात्र हो। तर यस्ता धेरै साना प्रयास एकसाथ जोडिँदा प्रभावित नागरिकलाई तत्काल राहतदेखि पुनःस्थापना र पुनर्निर्माणसम्म सहयोग पुग्न सक्छ भन्ने हाम्रो विश्वास छ,” उनले भने।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत गरिएको आइआइएमएस ग्रुपको रु. ११ लाख ११ हजार १११ को संस्थागत सहयोग बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सञ्चालन भइरहेका राष्ट्रिय प्रयासमा उपयोग हुने अपेक्षा गरिएको छ। आइआइएमएस ग्रुपले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै प्रभावितहरूको शीघ्र पुनःस्थापना, सुरक्षित जीवनयापन तथा जनजीवन सामान्य अवस्थामा फर्किने कामनासमेत गरेको छ।

