
बलिङमा शानदार पुनरागमन गर्दै दोस्रो अभ्यास खेलमा पनि नेपालको जित

काठमाडौं । एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ । नेपालले २७ रनको जित निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पार्यो । पहिले ब्याटिङ गरेको नेपाल ४१.४ ओभरमा १७० रनमा अलआउट भएको थियो । एक समय ३८–५ को संकटमा परेको नेपाललाई रोहित पौडेलले ६१ रनको उत्कृष्ट इनिङ्स खेल्दै उकासे ।
उनले गुल्शन झासँग ५९ रन र सन्दीप लामिछानेसँग ४७ रनको महत्वपूर्ण साझेदारी गरे । गुल्शनले ४५ रन बनाए ।मलेसियाका अकिल वाहिदले ४ विकेट लिए भने सैयद अजिजले ३, रिजवान हैदरले २ र मोहम्मद आमिर अजिमले १ विकेट लिए ।
१७१ रनको लक्ष्य पछ्याएको मलेसियाले ९४–१ को बलियो अवस्था बनाए पनि त्यसपछि नेपाली बलरहरूले लगातार विकेट झार्दै खेल पल्टाए । मलेसिया ४०.१ ओभरमा १४३ रनमै समेटियो ।
नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए । सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान २–२ विकेट हात पारे भने हेमन्त धामीले १ विकेट लिए । मलेसियाका अकिल वाहिदले ५६ र नाजमुस साकिबले ५१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यसअघि नेपालले पहिलो अभ्यास खेलमा मलेसियालाई ९ विकेटले पराजित गरेको थियो ।

