
अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता
काठमाडौं । बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत उनीहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिने भएको हो ।
उमेर पुगेका तर शारीरिक अशक्तता तथा अपाङ्गताका कारण नागरिकताबाट वञ्चित व्यक्तिलाई घरमै पुगेर नागरिकता दिने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन्। यसका लागि १० वटै स्थानीय तहलाई शारीरिक अशक्तता तथा अपाङ्गता भएका नागरिकको विवरण सङ्कलन गर्न भनिएको र सम्बन्धित पालिकासँगको समन्वय र सहकार्यमा घरमै नागरिकता प्रदान गरिने उनले जानकारी दिइन् ।
नागरिकता प्राप्त गर्न कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएकाले कार्यक्रमले अशक्त तथा अपाङ्गता भएका नागरिकलाई राज्यबाट प्राप्त हुने सेवा सहज बनाउन सहयोग पुग्ने प्रजिअ अर्यालले बताइन् ।

