
हिमालयन बैंकको नाफामा उछाल, अधिकांश सूचक सकारात्मक

काठमाडौं । हिमालयन बैंकको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफामा उच्च वृद्धि देखिएको हो ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको भन्दा १ हजार ४१ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १२ करोड ९७ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको प्रोभिजनिङ घटेका कारण नाफा बढेको देखिन्छ ।
बघिल्लो वर्ष ३ अर्ब ७५ करोड ६० लाख ३८ हजार रुपैयाँ प्रोभिजनिङ गरेको बैंकले गत वर्ष २ अर्ब ८९ करोड ६४ लाख ९८ हजार रुपैयाँ छुट्याएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा खुद ब्याज आम्दानी १५.७३ प्रतिशत घटेर ८ अर्ब ८१ करोड १ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १० अर्ब ४५ करोड ५६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा सञ्चालन नाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा २३.६० प्रतिशतले घटेर २ अर्ब ६२ करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको उक्त नाफा ३ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६ करोड २१ लाख ९६ हजार रुपैयाँ पुगेको भने वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख ४९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २६ अर्ब ८० करोड ९१ लाख ३४ हजार रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ७.९७ प्रतिशतबाट घटेर ७.९६ प्रतिशतमा झारेको छ । प्रतिसेयर आम्दानी बढेर ६.५६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७७.४८ रुपैयाँ छ ।

