
माण्डु हाइड्रोपावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लागि लाभांश घोषणा गरेको हो।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको कुल १२ प्रतिशत हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको जनाएको छ।यसैगरी अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १४ औँ तथा १५ औँ वार्षिक साधारणसभा आउँदो भदौ १७ गते आयोजना गर्ने भएको छ। सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट हुनेछ।

