
नागरिक लगानी कोषको खुद नाफामा सुधार, ईपीएस कति ?

काठमाडौं । नागरिक लगानी कोषको खुद नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नागरिक लगानी कोषको नाफा ७.७२ प्रतिशतले बढेको हो ।
कम्पनीले गत आर्थिक वर्षको अन्तिमसम्ममा १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा कोषको कुल आम्दानी ७.२८ प्रतिशत बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । जसमा सेवा शुल्क तथा कमिसन आम्दानी १ अर्ब ७९ करोड रुपैयाँ र ब्याज आम्दानी ३६ करोड ४७ लाख रुपैयाँको योगदान रहेको छ । कोषको खुद कोष मौज्दात बढेर ३ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ भने विभिन्न क्षेत्रमा गरिएको कुल लगानी ३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।
वित्तीय सूचकहरूलाई हेर्दा कोषको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ४७ पैसा कायम भएको छ । कोषको लगानी प्रतिफल भने अघिल्लो आर्थिक वर्षको ५.६८ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ ।

