
पाल्पा सिमेन्टको २ लाख ८१ हजार २५० कित्ता साधारण सेयरको लकइन अवधि सकिदै

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लकइन अवधि सकिँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरेको २ लाख ८१ हजार २५० कित्ता साधारण सेयरको लकइन अवधि भदौ २८ देखि सकिने जनाएको छ ।
पाल्पा सिमेन्टले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत, अर्थात् ७५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।कुल निष्कासनमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी तथा खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर छुट्याइएको थियो।
बाँकी १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् २ लाख ८१ हजार २५० कित्ता सेयर छुट्याइएको थियो। कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोषका योजनालाई बाँडफाँट गरिएको सेयर सार्वजनिक निष्कासन गरी बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइन राख्नुपर्ने व्यवस्था रहेको जनाएको छ ।
लकइन अवधि समाप्त भएपछि सामूहिक लगानी कोषका योजनाले सम्बन्धित सेयर बिक्री तथा कारोबार गर्न पाउनेछन्।

