
मुक्तिनाथ विकास बैंक बन्यो १ खर्बभन्दा बढी कर्जा प्रवाह गर्ने पहिलो विकास बैंक, १ अर्ब माथि नाफा

काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफामा दोहोरो अंकको सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफा बढेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेसँगै खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १.५० प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.८९ प्रतिशत र सञ्चालन मुनाफा २०.२३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।
गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रुपैयाँ रहको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा रहेको छ । नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा सीमित भएको छ । त्यसैगरी, असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.१३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८२ पैसा रहेको छ । ८ अर्ब ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ ।
खर्ब माथिको कर्जा प्रवाह गर्ने पहिलो विकास बैंक
यसै बीच मुक्तिनाथ विकास बैंक लिमिटेड खर्ब माथिको कर्जा प्रवाह गर्ने पहिलो बैंक बनेको छ । गत आर्थिक वर्षमा बैंकले १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कर्जा ३.३८ प्रतिशत बढेको हो । बैंकको निक्षेप भने समीक्षा अवधिमा ५.२० प्रतिशत बढेर १ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

