
कालिका लघुवित्तको नाफामा ३०४ प्रतिशतको वृद्धि, इपीएस कति ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफामा उच्च वृद्धि देखिएको हो ।
वित्तीय विवरण अनुसार कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो खुद नाफा सहितका अधिकांश सूचकमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ । विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १२ करोड २८ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३०४.६० प्रतिशतको उत्साहजनक वृद्धि हो । अघिल्लो आवमा कम्पनीको नाफा मात्र ३ करोड ३ लाख ७१ हजार रुपैयाँ सीमित थियो ।
संस्थाको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा पनि सन्तोषजनक सुधार देखिएको छ । अघिल्लो वर्ष ३५ करोड ६७ लाख ३१ हजार रुपैयाँ रहेको यस्तो आम्दानी ३२.०१ प्रतिशतले बढेर ४७ करोड ९ लाख १८ हजार रुपैयाँ पुगेको छ । यसैगरी संस्थाको सञ्चालन मुनाफा पनि ८ करोड २३ लाख रुपैयाँबाट उल्लेख्य बढेर १८ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
वित्तीय अवस्थाको सुदृढीकरणसँगै कम्पनीको जगेडा कोष र चुक्ता पुँजीमा पनि बढोत्तरी भएको छ । कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख ६१ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १० करोड ७ लाख रुपैयाँ र रिजर्भमा २५ करोड २३ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको कुल सम्पत्ति पनि ५ अर्ब २५ करोड रुपैयाँबाट बढेर ५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २७.४० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७८.७३ रुपैयाँ कायम भएको छ । कम्पनीको वितरणयोग्य मुनाफा ८ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

