
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको नाफामा युर्टन देखिएको छ । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा करिब ७ करोड रुपैयाँले नोक्सानीमा रहेको कम्पनीले गत आर्थिक वर्षमा भने सोही बराबरको नाफा कमाएको हो ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ करोड ६७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनी ६ करोड ८५ लाख ६१ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।
कम्पनीको आम्दानीको मुख्य स्रोत विद्युत बिक्रीमा भएको बढोत्तरीले यसको नाफा बढाउन भूमिका खेलेको देखिन्छ । गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट कुल ३४ करोड ७१ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको २९ करोड ३१ लाख २८ हजार रुपैयाँको तुलनामा करिब १८.४३ प्रतिशतको वृद्धि हो ।
१ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.०७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ८३.३९ रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष अझै पनि १८ करोड २६ लाख ८२ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

