
पाँचथर पावर वित्तीय अवस्था : ऋणात्मकबाट पुनरागमन, साढे ८ करोड नाफामा

काठमाडाैं । पाँचथर पावर कम्पनी लिमिटेडले आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । अघिल्लो वर्ष ऋणात्मक अवस्थामा रहेको कम्पनीको नाफा गत आर्थिक वर्षको अन्तिमसम्ममा नाफा धनात्मक बनेको हो ।
कम्पनीले पछिल्लो एक वर्षमा आफ्नो वित्तीय अवस्थामा लोभलाग्दो सुधार गर्दै बलियो पुनरागमन गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ८ करोड ५१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनी ६ करोड १७ लाख २४ हजार रुपैयाँ खुद नोक्सानीमा खुम्चिएको थियो । कम्पनीले १ वर्षमै नोक्सानीलाई नाफामा बदल्न सफल भएको छ ।
विद्युत बिक्रीमा उल्लेख्य वृद्धि आएका कारण कम्पनी नाफा आर्जन गर्न सक्षम बनेको हो । अघिल्लो वर्षको असार मसान्तसम्म जम्मा ८ करोड ९० लाख ७२ हजार रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी यस वर्ष चामत्कारिक रूपले बढेर ३७ करोड ७८ लाख १६ हजार रुपैयाँ पुगेको छ । २०८० साल असारमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्याएपछि लामो समय उत्पादन बन्द भएको थियो । आयोजनाको मर्मत सम्भार सकेर २०८१ चैत १६ गतेदेखि पुनः पूर्ण रूपमा उत्पादन सुरु भएपछि कम्पनीको आम्दानीको स्रोत फेरि बलियो बनेको हो ।
यता कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि उत्साहजनक सुधार देखिएको छ । अघिल्लो वर्ष ऋणात्मक रहेको प्रतिसेयर आम्दानी यस वर्ष ८.८५ रुपैयाँ कायम भएको छ । त्यसैगरी प्रतिशेयर नेटवर्थ ९८.६५ रुपैयाँ रहेको छ । ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीको जगेडा कोषमा रहेको घाटा पनि उल्लेख्य रूपमा घटेको छ । अघिल्लो वर्ष ९ करोड ८१ लाख रुपैयाँले ऋणात्मक रहेको जगेडा कोष अहिले सुधारिएर १ करोड २९ लाख रुपैयाँ ऋणात्मकमा झरेको छ ।

