
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य छलाङ गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा २५२ प्रतिशतले बढेको हो ।
गत आवमा अन्तिमसम्ममा कम्पनीले ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको भन्दा २५२.७२ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवमा १ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १७ करोड ६८ लाख रुपैयाँबाट बढेर २१ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने खुद फी तथा कमिशन आम्दानी २ करोड ४० लाख रुपैयाँबाट २ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कइम्पेयरमेन्ट चार्ज २ करोड ७४ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यस्तो चार्ज ५ करोड ९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कुल आम्दानी २४ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यस्तो आम्दानी अघिल्लो आवको अन्तिमसम्ममा २० करोड ८ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको आम्दानी बढेको र इम्पेयरमेन्ट चार्ज घटेका कारण सञ्चालन मुनाफा बढेर ८ करोड २ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा २ करोड २८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ ३०५ रुपैयाँ ५४ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा धनात्मक बनेको छ । अघिल्लो आवको अन्तिमसम्ममा ३ करोड ८३ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षको अन्तिमसम्ममा ४९ लाख रुपैयाँले धनात्मक भएको छ ।
१० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ३२ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीले कर्जा प्रवाह २ अर्ब ३७ करोड रुपैयाँबाट घटेर २ अर्ब ३० करोड रुपैयाँमा झरेको छ भने निक्षेप संकलन १ अर्ब ४० करोड रुपैयाँबाट बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

