
सातामा करिब २ प्रतिशत घट्यो नेप्से, औषत काराेबार ४ अर्ब ३३ करोड

काठमाडौं । यो हप्ता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । अघिल्ला दुई साता बढेको नेपालको पुँजी बजार यो साता भने निरन्तर रुपमा घटेर बन्द भएको हो । गत साता २७३४.६० विन्दुमा बन्द भएको नेप्से, यो साता १.७९ प्रतिशत अर्थात ४९.०६ अंक घटेर २६८५.५४ विन्दुमा बन्द भएको हो ।
यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये चार कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेर बन्द भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ३.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०५ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकममा पनि केही कमी आएको छ । गत साता दैनिक औषतमा ५ अर्ब ६६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ३३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २३.४८ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या १९ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १८.८१ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ९९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८४ अर्ब रुपैयाँ घटेर ४६ खर्ब १५ अर्ब रुपैयाँमा सीमित भएको छ । १३ उपसमूहमध्ये यस साता एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस साता बैंकिङ्ग उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको छ। गत साता १४८९.१२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २.१७ अंक बढेर १४९१.२९ विन्दुमा पुगेको छ ।
यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.५३ प्रतिशत घटेको छ। गत साता ११ हजार ४९.१८ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ३८९.६३ अंक घटेर १० हजार ६५९.५५ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक घटेको हो।

