
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन । पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नेपाल ह्याचरी उद्योग सङ्घ बागमती प्रदेश समन्वय समितिद्वारा शुक्रबार आयोजित सो कार्यक्रममा वातावरण विज्ञ युवराज ढकालले वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ र व्यावसायिक पक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका २०७१ ले व्यवस्था गरेको कानुनी अवस्थाहरूका बारेमा जानकारी गराए ।
उद्योग व्यवसायसँग सम्बन्धित ऐन, नीति, नियम निर्देशिका, विधेयक, प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदनका लागि अपनाउनुपर्ने विधिहरू, आवश्यक कागजात, फोहर व्यवस्थापन, स्वच्छ उत्पादन, फार्मको स्वःअनुगमनलगायत विविध विषयमा उनले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले सङ्घबाट भएका पहल, व्यावसायिक पक्षी फार्म तथा ह्याचरी सञ्चालन निर्देशिका २०७१ ले गरेको प्रावधान कार्यान्वयनका लागि विभागबाट आएका निर्देशनहरू, उक्त निर्देशिकामा सुधार गर्नेबारेमा भएका पहल, व्यवसाय सञ्चालनका लागि प्रारम्भिक वातावरण परीक्षण प्रतिवेदनको भूमिकालगायतका बारेमा जानकारी प्रदान गरेका थिए । कार्यक्रममा ह्याचरी उद्योग सङ्घ बागमती प्रदेश समन्वय समितिका संयोजक ज्ञानबहादुर विसुराल, शिव बराललगायतले बोलेका थिए ।

