
नेपालको लगातार तेस्रो हार

काठमाडौं । जान फ्राइलिन्कको शतकमा आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नामेबियाले नेपाललाई ३ रनको झिनो अन्तरमा हराएको छ। यो जितमा नामेबिया नेपाललाई पछि पार्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। नेपाल छैंटौं स्थानमा झरेको छ।
जितको लागि २ सय १२ रनको लक्ष्य पछाएको नेपाल ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रनमा रोकियो। ओपनर कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटको लागि ५१ रनको साझेदारी गरे। कुशल ३४ रनमा आउट भए। लगत्तै इशान पाण्डे १४ रनमा र भीम सार्की मात्र १ रनमा पबिलियन फर्किए। भीमलाई आज ललितको स्थानमा मौका दिइएको थियो। तर उनको प्रदर्शन निराशाजनक रह्यो।
भर गरेका ब्याटर दीपेन्द्र सिंह ऐरी ३ रनमा रन आउट हुँदा नेपालको इनिङ्स धर्मरायो। १ सय १३ रन जोड्दा नेपालले ५ विकेट गुमाइसकेको थियो। कप्तान रोहित पौडेल र आरिफ शेखले छैटौं विकेटको लागि ६५ रनको साझेदारी गरे। रोहित ४१ रन जोडेर ४७.२ ओभरमा आउट हुँदा नेपालले १ सय ७८ रन बनाएको थियो। रोहित आउट भएपछि नेपाललाई जितको लागि १६ बलबाट ३४ रन जरूरी थियो।
गुल्सन झा क्रिजमा छिरे। ४९ ओभरको समाप्तिमा नेपालले १ सय ९५ रन बनायो। अन्तिम ६ बलमा जितको लागि १७ रन जरूरी थियो। जहाँ अन्तिम बलमा स्ट्राइकमा रहेका गुल्सनले चौका प्रहार गरेको खण्डमा खेल टाइ हुने थियो। छक्का प्रहार गरेको भए नेपालले खेल जित्ने थियो।
तर गुल्सनले मात्र १ रन जोड्दा नेपाल ३ रनको पिडादायी हार बेहोर्न बाध्य भयो। यो ओभरमा नेपालले १३ रन बनायो। आरिफ अविजित ३८ र गुल्सन अविजित १९ रनमा रहे। बलिङमा ज्याक ब्रासेलले ३ र रुबेन ट्रम्पलम्यानले २ विकेट झारे।
त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ११ रन बनायो। ओपनर माइकल भान लिनगेन ५ बलमा सोमपाल कामीको बलमा बोल्ड आउट भए। लगत्तै मलान क्रुगर १५ रनमा करण केसीद्वारा पबिलियन फर्किए। २ ओपनर गुमाउँदा नामिबियाले ३७ रन मात्र बनाएको थियो।
यसपछि जान र लउरेन स्टीनकाम्पले तेस्रो विकेटको लागि शतकीय साझेदारी गरे। यो साझेदारीलाई करणले तोडे। १ सय ३१ रनको साझेदारी गर्दै लउरेन ५९ रनमा आउट भए। लाउरेन स्टिन कमयाम्पलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराउँदै उनले १ सय विकेटको सफलता प्राप्त गरे। उनले ७२ खेल खेल्दै १ सय विकेट लिएका हुन्। यो सँगै उनी नेपालको लागि ओडिआईमा १ सय विकेटको आँकडा पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि यो सफलता सन्दीप लामिछानेले पूरा गरेका थिए।
कप्तान जेराड इरासमस ३ रनमा करणकै शिकार भए। क्रिजमा जमेका जानले शतकको सफलता प्राप्त गरे। उनले १ सय ४९ बल खेल्दै ३ चौका सहित १ सय रन बनाए। उनी कप्तान रोहितद्वारा रन आउट भए। यसपछि जेजे स्मिथलाई ३ रनमा र जाने ग्रीनलाई ६ रनमा करणले आउट गरे। १ सय विकेट पूरा गरेको खेलमा करणले सानदार बलिङ गरे। उनले १० ओभर बलिङ गर्दै २ मेडन सहित २९ रन दिएर ५ विकेट लिएका छन्। यो सँगै उनको विकेट सङ्ख्या १ सय ३ पुगेको छ। नेपालको यो लगातार तेस्रो हार हो। २४ अंक रहेको नेपाल छैटौं स्थानमा तल झरेको छ। नामिबिया नेपाललाई पछि पार्दै पाँचौं स्थानमा उक्लन सफल भयो। उसले २६ अंक बनाएको छ।

