
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

काठमाडौं । बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ ।
उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग प्रशासनमा (उद्योग दर्ता, नवीकरण, नामसारी लगायतका सेवा) अनलाइन प्रणालीमार्फत सेवा सुरु गरेको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ मा प्रदेशका १३ वटै जिल्लाहरूमा उद्योग प्रशासन सेवा अनलाइन मार्फत सञ्चालन गर्ने तयारी गरेको मन्त्रालयका प्रवक्ता कुमार तामाङले जानकारी दिए ।
प्रदेश अन्तर्गत चितवन, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका उद्योग तथा वाणिज्य कार्यालयहरूलाई नमूना कार्यालय घोषणा गरिसकेको मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ मा १३ वटै कार्यालयलाई नमूना कार्यालय बनाउने लक्ष्य सहित बजेट विनियोजन गरिएको जनाएको छ ।
मन्त्रालयले नमूना कार्यालय व्यवस्थापन मापदण्ड समेत तयार गरिसकेको छ । प्रदेशमा आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म मन्त्रालय मातहत करिब चार हजार ९५६ उद्योग र दुई हजार ५५० वाणिज्य फर्म दर्ता भएका छन् । बजारमा कालोबजारी तथा कृतिम अभाव नियन्त्रणका लागि नियमित र आकस्मिक बजार अनुगमनलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ ।

