राष्ट्र बैकको निर्देशन : अब हाईलेवलका व्यक्तीकै खाता जाँच हुने
काठमाडौं । आज नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ । सो निर्देशन अनुसार अब उच्च पदस्थ व्यक्तिहरुको खाता निगरानी हुने भएको हो।
राष्ट्र बैंकले निर्देशन जारी गर्दै सार्वजनिक पद धारण गरेका विशिष्ट व्यक्तिहरुको खातामा कडा चेकजाँचका कदम अघि सार्ने भएको छ।
आगामी दिनमा सम्पत्ति शुद्धिकरणमा कडाई गर्दै पहुँचमा रहेको उच्च व्यक्तीहरुले आफ्नो खाताबाट गर्न सक्ने सम्भावित त्रुटी रोक्न यस्तो निर्देशन दिइएको बुझिएको छ ।
यता राष्ट्र बैंकले क, ख, ग तथा घ बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्ने बुँदा नं ११ मा ‘५ संस्थाले आफ्नो ग्राहक उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्ति भए नभएको यकीन गर्न आफूसँग ग्राहकबाट प्राप्त जानकारी तथा बुँदा नं. १ बमोजिम बनाइएको संयन्त्र प्रयोग गर्नुपर्ने छ।’ भन्ने उल्लेख गरिएको छ ।
बुँदा नं १ मा गृहमन्त्रालयबाट प्राप्त सूचना बमोजिमको व्यक्ति तथा संगठनहरुको विवरण संकलन गर्न छुट्टै इकाई बनाउनु पर्ने उल्लेख छ भने विशिष्ट व्यक्तिहरुको खातामा हुने शंकास्पद कारोबारको रिपोर्ट तीन दिनभित्र बैंकले राष्ट्र बैंकमा बुझाउनुपर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम अब बैंकहरुले आफ्ना ग्राहकहरुको छुट्टै संयन्त्र बनाएर अनुसन्धान गर्नुपर्नेछ । नयाँ व्यवस्था अनुसार अब बैंकहरुमा जासुसी संयन्त्र हुनेछ । सो संयन्त्रले गृहमन्त्रालयले दिएको सुचनाको आधारमा अपराधिक र संगठित संस्थाहरुले गरेको आर्थिक कारोबारको विवरण केन्द्रीय बैंकलाई दिनुपर्ने जनाइएको छ ।
उच्च पद र ओहोदामा रहनेहरुकै खाता जाँच नगर्दा वित्तीय शुद्धता र रियल टाइम डेटाको अवधारणालाई नै सिधै आत्मसाथ गर्न नसकिने देखिएपछि राष्ट्र बैंकले एकाएक यस्तो कदम चालेको बुझिएको छ ।