
३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पुँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार पुँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो मुख्य स्तम्भ बनाउने घोषणा गर्दै ‘पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गर्यो। आगामी १० वर्षभित्र बजारको संरचनात्मक सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन बोर्डले यो रणनीतिक गुरुयोजना अघि सारेको हो।
परम्परागत बैंक केन्द्रित वित्तीय प्रणालीको विकल्पका रूपमा पुँजी बजारलाई विकास गरिनेछ। नयाँ योजनाले आगामी दशकभित्र कुल गार्हस्थ्य उत्पादनमा बजारको योगदान उल्लेख्य बढाउने धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले मार्गचित्रमा उल्लेख गरेका छन। सार्वजनिक मार्गचित्रले सन् २०३६ सम्मका लागि मुख्य सूचकहरूमा ठूलो फड्को मार्ने प्रक्षेपण गर्यो। हाल औसत ८ अर्ब रुपैयाँ हाराहारीमा रहेको दैनिक कारोबार रकमलाई ३० अर्ब रुपैयाँ पुर्याउने लक्ष्य छ।
कुल गार्हस्थ्य उत्पादन र बजार पुँजीकरणको अनुपात हाल ७० देखि ८० प्रतिशत रहेकोमा त्यसलाई १५० प्रतिशतभन्दा बढी पुर्याउने योजना छ। बजारमा सूचीकृत कम्पनीहरूको संख्या ५०० भन्दा बढी पुर्याइनेछ, जसमा २०० भन्दा बढी साना तथा मझौला कम्पनीहरू हुनेछन्। हाल करिब ७७ लाख ६६ हजार रहेको डिम्याट खाता संख्यालाई थप विस्तार गरी ठूलो जनसंख्यालाई बजारमा आबद्ध गराइनेछ। मार्गचित्रले बजारको क्षेत्रगत असन्तुलन र एकल वित्तीय उपकरणको निर्भरतालाई मुख्य चुनौतीका रूपमा औंल्यायो।
Loading Viewer...

