
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

लमजुङ । ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ गन्तव्यतर्फ लाग्छन् । सारङ्गीको धुन र गीतमार्फत उनले आफ्नो जीवनयापन मात्र गरिरहेका छैनन्, गन्धर्व समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई निरन्तरता दिइरहेका छन् ।
लमजुङको सुन्दरबजार क्षेत्र नजिकै लमजुङ र तनहुँको सीमाक्षेत्रमा बसोबास गर्दै आएका यमबहादुरले विगत ३६ वर्षदेखि सारङ्गी बजाउने र गीत गाउने पेसालाई निरन्तरता दिँदै आएका छन् । बुबा–बाजेको पालादेखि चल्दै आएको पुर्ख्यौली पेसालाई अँगालेर उहाँले आफ्नो जीवनयात्रा अघि बढाइ रहेका हुन् । “पढाइ पनि धेरै गर्न सकिनँ, अरू काम पनि जानेको छैन । अब यही पेसाबाट जीवन चलिरहेको छ,” यमबहादुरले भने, “हातगोडा चलुन्जेल यही काम गर्छु । आफ्नो कमाइ आफैँ गर्छु र आफ्नो खर्च आफैँ चलाउँछु ।”
विगतमा गाउँ–बस्तीमा पुग्दा गन्धर्वका गीत सुन्ने र सहयोग गर्ने मानिस धेरै हुने गरेको अनुभव उनीसँग छ । तर समय परिवर्तनसँगै मानिसको रुचि र व्यवहारमा आएको परिवर्तनका कारण अहिले पहिले जस्तो सहयोग पाउन कठिन हुँदै गएको यमबहादुरले बताए। लमजुङका विभिन्न स्थानसँगै मनाङ, गोरखा, काठमाडौँ, पोखरा, चितवनलगायत क्षेत्रमा पुगेर उनले सारङ्गी बजाउँदै गीत गाउँदै र्आएका छन् ।
बिहानैखि बेलुका अबेरसम्म विभिन्न ठाउँमा हिँडेर गन्धर्वले आफ्नो कला प्रस्तुत गर्नुहुन्छ । यमबहादुरको आम्दानी निश्चित छैन । गन्धर्वका अनुसार कसैले १०–२० रुपैयाँ सहयोग गर्छन् भने कसैले ४०–५० रुपैयाँसम्म पनि दिने गर्छन् । कतिपय अवस्थामा राम्रो व्यवहार पाए पनि कहिलेकाहीँ अपमानजनक शब्दसमेत सुन्नुपर्ने अवस्था आउने गरेको उनले बताए ।
यही पेसाबाट परिवारको खर्च चलाउँदै आएका यमबहादुरले सामान्यतया महिनामा रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी हुने र कहिलेकाहीँ त्यसमा वृद्धि हुने गरेको बताए । वर्षायाम भने उनका लागि थप कठिन समय हुने गरेको छ । असार–साउनमा पानी पर्ने, बाटो बिग्रने र लामो दूरी हिँड्न समस्या हुने भएकाले पेसामा असर पर्ने गरेको गन्धर्वको भनाइ छ ।
“पानी परेको बेला धेरै समस्या हुन्छ । हिँड्न गाह्रो हुन्छ । तर यही मेरो जीवनको आधार हो,” उनले भने । यमबहादुरका लागि सारङ्गी केवल आम्दानीको माध्यम मात्र होइन, आफ्नो पहिचान र संस्कृतिसँग जोडिएको सम्पत्ति हो । गन्धर्व समुदायमा गीत–सङ्गीत र सारङ्गी बजाउने परम्परा पुस्तौँदेखि चल्दै आएको उनले बताए । धार्मिक तथा सांस्कृतिक विश्वासअनुसार गन्धर्व समुदायलाई गीत–सङ्गीतको वरदान प्राप्त भएको र गीत गाउँदै, सारङ्गी बजाउँदै विभिन्न ठाउँमा पुग्ने परम्परा रहेको विश्वास रहेको गन्धर्वले बताए ।
सारङ्गी बजाउनुका साथै गन्धर्वले समाज र देशमा भएका विभिन्न घटना, सामाजिक विषय तथा जनचेतनामूलक सन्देश समेटिएका गीतसमेत गाउँदै आएका छन् । आफ्नो कलामार्फत समाजलाई सन्देश दिन पाउँदा खुसी लाग्ने उनले बर्ताए । तर पछिल्लो समय गन्धर्व समुदायको मौलिक कला, संस्कार र संस्कृति संरक्षणमा चुनौती थपिँदै गएकामा यमबहादुरको चिन्ता छ ।
नयाँ पुस्ताले यो पेसा अँगाल्न चासो नदेखाउँदा परम्परागत कला बिस्तारै हराउने जोखिम बढेको गन्धर्वले बताए । “अहिलेका सन्तान यो पेसामा आउन चाहँदैनन् । उनीहरू अरू कामतिर जान थालेका छन्,” उनले भने, “यसले गर्दा हाम्रो कला र पहिचान हराउने चिन्ता छ ।”
गन्धर्व समुदायको कला र संस्कृति संरक्षणका लागि सरकारी तथा सम्बन्धित निकायबाट पनि पहल आवश्यक छ । गन्धर्व समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्न सके नयाँ पुस्तालाई यो पेसाप्रति आकर्षित गर्न सकिने यमबहादुरले बताए ।
सारङ्गी बजाउने, गीत गाउनेजस्ता परम्परागत सीप नयाँ पुस्तालाई सिकाउन तालिम सञ्चालन गर्न सके युवाले आफ्नो पुर्ख्यौली कला सिक्ने अवसर पाउने र यसलाई जीवनयापनसँग जोड्नसमेत सहयोग पुग्ने गन्धर्वको विश्वास छ । श्रीमती, छोराबुहारी, नातिनातिनासहित पारिवारिक जिम्मेवारी सम्हाल्दै आउनुभएका यमबहादुरले आफूले सक्ने समयसम्म यही पेसालाई निरन्तरता दिने बताए ।
घाम, पानी र कठिनाइसँग सङ्घर्ष गर्दै काँधमा सारङ्गी बोकेर यात्रामा निस्कनुहुने यमबहादुरका लागि यो केवल जीविकोपार्जनको माध्यम होइन, पुर्खाले हस्तान्तरण गरेको अमूल्य सम्पदा हो । उहाँजस्ता कलाकारकै कारण गन्धर्व समुदायको मौलिक कला र संस्कृति अझै जीवित छ । तर यो पहिचान जोगाउन नयाँ पुस्तालाई जोड्ने र संरक्षणका कार्यक्रम अघि बढाउने आवश्यकता देखिएको छ ।

