
लगानी भनेको केवल व्यवसाय विस्तार होइन, राष्ट्र निर्माणप्रतिको विश्वास र भविष्यप्रतिको प्रतिबद्धता पनि हो : चन्द्र ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल लउद्योग वाणिज्य महांघका निर्वतमान अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी व्यवसाय विस्तार मात्रै नभएर राष्ट्र निर्माणप्रतिको विश्वास रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा फोटो फोष्ट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आइएमई ग्रुप विगत साढे तीन दशकभन्दा लामो समयदेखि नेपालको आर्थिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन र समृद्धिको यात्रामा निरन्तर योगदान दिँदै जनाएका छन् । आज आइएमई ग्रुप कुनै एउटा कम्पनी वा व्यवसायको नाम मात्र होइन, ७७ वटै जिल्लाका नेपालीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएको साझा भरोसाको परिचय बनेको समेत उल्लेख गरेका छन् ।
‘बैंकिङ, बीमा, रेमिट्यान्स, डिजिटल भुक्तानी, सूचना प्रविधि, पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य, उत्पादनमूलक उद्योग, होटल, रिसोर्ट, पूर्वाधार, केबलकारलगायत विविध क्षेत्रमा गरिएको हाम्रो लगानीको केन्द्रमा सधैं एउटै सोच रह्यो—सरकारको विकास प्राथमिकता, आम नागरिकको आवश्यकता र देशको दीर्घकालीन समृद्धिमा योगदान गर्ने क्षेत्रमा लगानी,’ उनले लेखेका छन् ।
आइएमई ग्रुपअन्तर्गतका विभिन्न सेवामार्फत हामी प्रत्यक्ष रूपमा मुलुकको ठूलो जनसंख्याको दैनिकीसँग जोडिएका छौं भने अप्रत्यक्ष रूपमा हाम्रो सेवा र पहुँच अझ व्यापक रहेको उनको भनाइ छ । नेपालीको जीवनलाई सहज बनाउँदै देशको आर्थिक गतिविधिलाई चलायमान बनाउनु नै हाम्रो व्यवसायको मूल उद्देश्य रहँदै आएको छ । त्यसैले हाम्रो लागि व्यवसाय केवल नाफाको विषय होइन, राष्ट्र निर्माणमा योगदान गर्ने माध्यम पनि रहेको ढकालको भनाइ छ ।
‘यही दीर्घकालीन सोचका साथ सातै प्रदेशमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको आइएमई ग्रुपले अहिले विकासका दृष्टिले अपार सम्भावना बोकेको, तर अपेक्षाकृत कम लगानी पुगेको सुदूरपश्चिम प्रदेशमा आफ्नो लगानीलाई थप विस्तार गर्ने अभियानलाई तीव्रता दिएको छ । स्थानीय साझेदारहरूसँगको सहकार्यमा कैलालीको चिसापानीमा निर्माणाधीन जालपादेवी केवलकार, पाँचतारे होटल तथा रिसोर्ट अहिले अन्तिम चरणमा पुगेको छ। आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ अघि बढिरहेको यस परियोजनाले धार्मिक तथा प्राकृतिक पर्यटनलाई नयाँ आयाम दिने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, होटल, यातायात, कृषि, हस्तकला तथा साना उद्यमलाई चलायमान बनाउने र हजारौं प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने विश्वास लिएका छौं। यो परियोजना सुदूरपश्चिमको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको एउटा महत्वपूर्ण आधार बन्नेछ भन्ने हाम्रो विश्वास छ, उनले उल्लेख गरेका छन् ।
यससँगै बैतडीमा सिमेन्ट उद्योग र बझाङमा जलविद्युत् आयोजना अघि बढाउने दिशामा आवश्यक अध्ययन तथा तयारी पनि भइरहेको छ। केही दिनअघि कैलालीबाट सुरु भएको मेरो सुदूरपश्चिम भ्रमण अछाम, डडेलधुरा, बैतडी हुँदै बझाङसम्म पुग्यो र पुनः त्यही मार्ग हुँदै फर्किने क्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायी साथीहरू, सरोकारवाला तथा स्थानीय समुदायसँग आत्मीय संवाद गर्ने अवसर प्राप्त भयो। यस यात्राले सुदूरपश्चिमको पर्यटन, उद्योग, ऊर्जा, कृषि तथा पूर्वाधार विकासका अपार सम्भावनालाई अझ नजिकबाट बुझ्ने अवसर मात्र दिएन, यस प्रदेशमा दीर्घकालीन लगानी विस्तार गर्ने हाम्रो विश्वासलाई अझ मजबुत बनाएको छ ।
हामीले सधैं एउटा कुरा अनुभव गरेका छौं—लगानी त्यहीँ पुग्छ जहाँ सम्भावना, विश्वास, सहकार्य र सकारात्मक वातावरण हुन्छ। त्यहीँबाट रोजगारी, उद्यमशीलता र समृद्धिको यात्रा सुरु हुन्छ। सुदूरपश्चिमका राजनीतिक दलका नेतृत्व, प्रदेश तथा स्थानीय सरकार, व्यवसायी साथीहरू, स्थानीय समुदाय तथा सम्पूर्ण सरोकारवालाबाट प्राप्त आत्मीय साथ, सहयोग, विश्वास र हार्दिक आतिथ्यताप्रति म हृदयदेखि नै आभार व्यक्त गर्दछु। यस प्रदेशमा निजी लगानी आकर्षित गर्न, रोजगारी सिर्जना गर्न र आर्थिक गतिविधि विस्तार गर्ने वातावरण निर्माणमा उहाँहरूले देखाउनुभएको प्रतिबद्धता र सहयोग वास्तवमै प्रशंसनीय छ।
नेपालको कुनै भूगोल हाम्रो लागि टाढा छैन, कुनै सम्भावना सानो छैन। जहाँ सम्भावना हुन्छ, त्यहाँ लगानी गर्ने साहस र जहाँ विश्वास हुन्छ, त्यहाँ दीर्घकालीन सहयात्रा गर्ने प्रतिबद्धता नै आइएमई ग्रुपको मूल दर्शन हो। सुदूरपश्चिमसँगको हाम्रो सहयात्रा अब अझ व्यापक, अझ गहिरो र अझ अर्थपूर्ण बन्दै जानेछ।

