
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल ले मुस्ताङमा युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराए।
उनले केही डिजिटल सञ्चारमाध्यममा प्रकाशित यस्ता दाबीहरू पूर्ण रूपमा आधारहीन रहेको उल्लेख गर्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको बताए।
मन्त्री खनालले भने, “मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेना बीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चामा कुनै सत्यता छैन। यस क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति वा सम्झौता भएको छैन।”
उनले नेपालको संविधानले प्राकृतिक स्रोतको उपयोगसम्बन्धी गरेको व्यवस्थाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। साथै नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हुने कुनै पनि सम्झौता नगरिने स्पष्ट पारे।
“नेपालको संविधान २०७२ को धारा २८९ बमोजिम प्राकृतिक स्रोत तथा त्यसको उपयोग सम्बन्धी व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध छ। नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको प्रतिकूल हुने गरी कुनै पनि सम्झौता गरिने छैन,” उनले भने।
परराष्ट्रमन्त्री खनालका अनुसार मुस्ताङ क्षेत्रमा युरेनियमसहितका खनिज स्रोत हुन सक्ने सम्भावनाबारे प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा विस्तृत अध्ययन र वैज्ञानिक अन्वेषण आवश्यक छ। उनले यससम्बन्धी आवश्यक प्रक्रिया खानी तथा भूगर्भ विभाग ले अगाडि बढाउने जानकारी पनि दिए।

