
गृहमन्त्रीको खाजामा माछाको काँडा भेटिएपछि ३ लाख जरिवाना

चितवनको भरतपुर विमानस्थल अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिमा आज बिहान गृहमन्त्री सुधन गुरुङले नास्ता गर्ने क्रममा अण्डाको अम्लेटभित्र माछाको काँडा भेटिएपछि उक्त होटल ठुलो कानुनी कारबाहीमा परेको छ।
गृहमन्त्रीकै खाजामा गम्भीर लापरबाही देखिएको गुनासो आउनासाथ सहायक प्रमुख जिल्ला अधिकारी र खाद्य तथा गुणस्तर मापन कार्यालयको संयुक्त टोलीले होटलमा आकस्मिक छापा मारेको थियो। अनुगमनका क्रममा होटलले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी गुणस्तरहीन तेल र बासी तरकारी प्रयोग गरिरहेको फेला परेको थियो।
खाद्य सुरक्षाका मापदण्डहरू उल्लंघन गर्दै ग्राहकको स्वास्थ्यमा खेलबाड गरेको पाइएकाले जिल्ला प्रशासन कार्यालय चितवनले उपभोक्ता संरक्षणसम्बन्धी प्रचलित कानुनबमोजिम होटललाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

