
याम्बालिङ्ग र टक्सार पिखुवा खोलाको आईपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो ।
नेप्सेमा याम्बालिङ्गको ७० लाख कित्ता र टक्सार पिखुवा खोलाको १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएका हुन् । याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको २८ लाख कित्ता आईपीओ र संस्थापक सेयरधनीहरूले लगानी गरेको ४२ लाख कित्ता सेयर गरी जम्मा ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यता टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता सेयर गरी जम्मा १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ । यी कम्पनीहरूको सेयर आउँदो सोमबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछन् । पहिलो कारोबारका लागि नेप्सेले दुवै कम्पनीहरूलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

