बोनस दरका आधारमा मात्रै बीमाको सूचक मूल्यांकन हुँदैन:बीमा प्राधिकरणका प्रवक्ता सुवेदी
काठमाडौं । केही दिन यता बीमा क्षेत्रमा अति संवेदनशील मानिने बोनस दरलाई नै माध्यम बनाएर झुटो सूचना प्रकाशन गरिएको भन्दै भारत सरकारको समेत लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले ध्यानाकर्षण गरेको छ । बीमा कम्पनी जति बलियो भयो त्यति नै कम्पनीमा आवद्ध बीमितहरुले पाउँने प्रतिफल बढ्दै जाने तथ्यलाई नकार्न सकिन्न । तर, एलआईसी नेपालको नाम जोडेर केही संचार माध्यमले बीमाको महत्व बिर्सीएर एकतर्फी रुपमा बोनस दर घट्नु र बढ्नुको गलत प्रचार गरेको एलआईसी नेपाल स्रोतले बीमा दर्पण डटकमलाई जानकारी दिएको हो।
यता बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण आफै फ्युचर बोनस प्रोभिजनका कारण बीमा कम्पनीहरुले दिने बोनस तत्कालका लागि घटे पनि भविष्यमा कम्पनी थप बलियो हुँदै जाने बताउँछ।
यसलाई उदहरणको रुपमा बुझ्दा तपाई हामीले आज लिएको जीवन बीमा पोलिसीको लागि अहिले नै बोनस पाउँने होइन । लामो समय अवधिका लागि दशकौसम्मका लागि बीमाले हाम्रो जोखिम बहन गरेकाले भोलिका दिनमा हरेक बीमितले पाउँने प्रतिफलमा समानता ल्याउँन नियामनकारी प्रावधान अघि सारेको बुझिएको छ । त्यसरी बीमा कम्पनीहरुका नयाँ अभ्यास लागू गर्दा त्यसले तत्काल बोनस केही हदसम्म घटे पनि भोलिका दिनमा लगानीकर्ताहरुलाई कम्पनी जति नाजुक अवस्थामा पुगे पनि उनीहरुले पाउँने प्रतिफलमा, बीमांकमा कुनै ढिलाई वा घटबढ हुँदैन । नियामक निकाय आफैले होमवर्कका साथ अध्ययन गरेर लागू गरेको प्रावधानलाई समेत ठाडै चुनौती दिने गरी या भनौ बीमाको बारेमा केही पनि थाहाँ नपाएको जस्ता सूचनाहरु बाहिरीनु दुखद रहेको एलआईसी नेपाल स्रोत बताउँछ ।
सम्बन्धित कम्पनीको ध्यानाकर्षण
कम्पनीले ध्यानाकर्षण समाचार लेखेकोमा नभई गलत व्याख्या र प्रचार गरेकोमा हो भन्ने जोड दिएको छ । भर्खरै कोरोना महामारीबाट अथर्तन्त्र तंग्रिदै गरेको अवस्था र त्यसमा पनि हरेक क्षेत्रमा व्यावसायीक संकट उत्पन्न भएको बेलामा बेआधार बीमा क्षेत्रको इतिहास बोकेको एवम् दैनिक, रातदिनको पवार्ह नगरि बीमितको सेवामा अहोरात्र खटिएको कम्पनीको गरिमामा आँच आउँने कुनै पनि किसिमका भ्रम कसैले पैदा गर्छ भने त्यस्तालाई आगामी दिनमा कडा कारबाही समेत गर्ने एलआईसी नेपालले विश्वास दिलाएको छ । कम्पनीले आम सर्वसाधारण र बीमितहरु बीमा भन्दा पहिला एलआईसी बुझ्ने गरेको तथ्य स्मरण गराउँदै कोही कसैलाई कुनै बहकाउमा लागेर वा आवेगमा आएर सस्तो लोकप्रियता कमाउने कदम विरुद्ध कम्पनी एकपटक मात्रै उभिएमा त्यसको नतिजा के हुन्छ भन्नेसम्म बिचार गरेर सधै सत्यको पक्षमा उभिन सचेत गराएको छ ।
साथै, नचाहिदो रुपमा दु:ख दिएमा त्यसको परिणाम स्वयमले भोग्नु पर्ने भन्दै कम्पनीले आफ्नो वित्तीय विवरण, कम्पनीको वास्तविक अवस्थाको बारेमा बीमित तथा सेयरधनीहरु सदैव जानकार रहेको बताएको छ ।
फ्युचर बोनस प्रोभिजन र रिस्कबेस्ड क्यापिटलको महत्व
अहिले नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई बलियो बनाउँन नै जोखिममा आधारित पूँजी रिक्स बेस्ड क्यापिटल लागू गरेको अवस्था छ । यसले कम्पनीलाई बलियो बनाउँने र बीमितहरुको प्रतिफल बढाउँने बताएको छ ।
यता भविष्यको लागि समेत रकम जोगाड गरेकाले कम्पनीको बोनसमा केही समय हलचल आउँने तथ्य समेत सम्बन्धित बीमा प्राधिकरण र ठूला जीवन बीमा कम्पनीले स्वीकार गरिसकेको अवस्थामा कम्पनीलाई अनाहकमा दुख दिने हेतुले विगतका जस्तै झुटा सूचना जारी गरेमा चुप नबस्ने एलआईसी नेपाल स्रोत बताउँछ ।
बोनस दर अन्तिम आधार होइन, प्राधिकरणका प्रवक्ता सुवेदी
यता नेपाल बीमा प्राधिकरणमा विभिन्न शाखाका अनुभव सम्हालेका प्राधिकरको प्रवक्ताको जिम्मेवारीमा समेत रहेका सुशिलदेव सुवेदीले बीमा दर्पण डटकमसँग भने,‘बोनस दरले मात्रै बीमाको गुणस्तर निर्धारण हुने कुरा सत्य होइन । बोनस त यस वर्षका लागि कम भए अर्को वर्ष बढ्छ, यस वर्ष बढी भएमा अर्को वर्ष घट्न पनि सक्छ । बीमा कम्पनीहरुको फाइनान्सीयल हेल्थ कस्तो छ भन्नको लागि, यसको पेईङ क्यापासिटी कस्तो छ, मार्केट बेस कस्तो छ, बजार हिस्सा कस्तो छ भन्ने कुराले पनि धेरै प्रभाव पार्छ । फ्युचर बोनस प्रोभिजनले र रिक्स बेस्ड क्याटिलले बोनस घटेको हो । फ्युचर बोनस भनेको भोलिको दिनमा बीमा कम्पनीले पैसा तिर्न सकेन भने त्यही प्रोभिजनबाट तिर्न जोगाड गरेको हो । त्यसले बीमा कम्पनीलाई भविष्यमा बलियो नै बनाउँछ । त्यसले गर्दा आज अलि कति घट्यो होला तर त्यसले भोलिको दिनमा कम्पनीलाई थप मजबुद बनाउँदै लान्छ ।’
हाल जीवन बीमा कम्पनीहरुको बोनस घटबढको विषयमा सुवेदीले थपे,‘आज कम खर्च गरेर भोलिका लागि बचत गरेको भन्या जस्तै हो ।’