बीमा प्राधिकरणका अध्यक्ष दहालको उद्घोष,‘बीमा क्षेत्रमा जति रहन्छु–सकेको गर्छु’
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष मदन दहालले आफूले बीमा क्षेत्रमा पाएको जिम्मेवारीलाई महत्वपूर्ण रुपमा लिएको र जति समय आफूलाई कार्य सम्पादन गर्ने अवसर मिल्छ त्यसको भरपूर सदूपयोग गर्ने बताएका छन्। बुधबार बीमा प्राधिकरणको कुपण्डोलस्थित नयाँ भवनमा बीमा क्षेत्रमा क्रियाशिल पत्रकारहरुसँगको प्रत्यक्ष साक्षात्कारमा उनले सो कुरा उद्घोष गरेका हुन् ।
अर्थमन्त्रालयको सह–सचिवको समेत जिम्मेवारीमा रहेका दहालले कार्यक्रमको सुरुवातमा नै आफूलाई (एक्टिङ) वा कायममुकायम (कामु) अध्यक्षको रुपमा नबुझ्न सुझाव दिँदै आफ्नो कार्य अवधि छोटो हुनसक्ने एउटा पाटो भए पनि जति समय काम गर्ने अवसर मिल्छ त्यसका लागि पूर्ण अख्तियारी प्राप्त भएको समेत दाबी गरे । दहालले आफूले बीमा क्षेत्रमा आएर जिम्मेवारी सम्हालेको केही दिन मात्रै भए पनि नेपाली आर्थिक क्षेत्रका मुद्धा र समस्याहरुलाई मन्त्रालय स्तरबाट नियाल्ने अवसर यस अघिबाटै पाएको स्मरण गराए । उनले बीमा आफैंमा प्राविधिक विषय भएको स्वीकार्दै त्यस्ता प्राविधिक पक्षलाई जटिल बनाउँने भन्दा पनि सक्दो सहजिकरण गर्दै समस्या सुल्झाउँन अग्रसरता देखाउँनु पर्ने बताए ।
बीमकको समेत भनाई सुनिने
आफू एक्लैको रहोवरमा जे पनि गर्न सक्ने दम्भ दहालमा देखिएन् । उनले कार्यक्रममा बीमकहरुको समेत सुझाव सुन्ने, त्यसलाई मनन गर्ने र कार्यन्वयन गर्ने तर्फ आफ्नो भूमिका केन्द्रित हुनेमा जोड दिएका छन् । त्यसरी नै बीमा प्राधिकरणका कर्मचारी, बीमा कम्पनीहरु र मिडीयाहरुले समेत आफ्नो जिम्मेवारीलाई सही रुपमा पहिचान गरि त्यसको सदुपयोग गरेमा छिट्टै नतिजा हात पार्न सफल हुने अनुभव पनि सुनाए । उनले आफू चौतर्फी रुपमा औपचारीकता पूरा गर्न भन्दा पनि काम गर्न र सहजिकरण गर्न रुचाउँने व्यक्तीत्व रहेको हाउभाउँ प्रस्तुत गरे ।
अब बीमितको खातामा तुरुन्तै पैसा जाने
आफ्नो नयाँ योजना सार्वजनिक गर्दै बीमा प्राधिकरणका अध्यक्ष दहालले आगामी दिनमा बीमितको खातामा सिधैँ भुक्तानी हुने प्रणालीलाई केन्द्रमा राखेर काम गर्ने बताए । उनले कतिपय नीतिगत कुराहरुमा हुलाक टिँकट टास्न, सर्भेयरको प्रतिवेदन भुक्तानी गर्न, फोटो वा प्रमाण बिना र बीमितको स्वयम् उपस्थिती वा हकवालाको उपस्थिती नभई भुक्तानी नहुने कानुनी जटिलता बाहेकको हकमा सो व्यवस्था लागू समेत स्पष्ट पारेका हुन् । त्यस्तै, बैदेशिक रोजगारको समेत विषय जोड्दै उनले सकेसम्म सरल, रहज र विश्वस्नीय बीमा सेवा आजको आवश्यकता रहेको बताए ।
आईभीआर सिस्टम आउँदै
आफ्नो कार्य अवधिमा नै बीमितहरुको सहजताको लागि आईभिआर सिस्टम ल्याउँनेदेखि कल सेन्टरको स्थापना गर्ने र त्यसलाई प्रभावकारी बनाउँने एजेण्डा प्रस्तुत गरे । कार्यक्रममा सोधिएका विविध प्रश्नहरुको एकपछि अर्को सम्बोधन गर्दै उनले आफ्नो हातमा रहेको मोवाइल फोन देखाउँदै दैनिक बीमाको दाबी भुक्तानी माग गर्दै आम नागरिक र सर्वसाधारणहरुले सयौंको संख्यामा आफूलाई भुक्तानी दिलाउँनु पर्यो भन्दै एसएसएस गर्ने गरेको समेत खुलासा गरे । उनले सोही कुरालाई आधार मान्दै आगामी दिनमा बीमाको भुक्तानीलाई तिव्रता दिने विषयमा काम गर्ने बताए । कार्यक्रममा बीमा प्राधिकरणका उच्च पदाधिकारीहरुले समेत सहभागीता जनाएका थिए भने अध्यक्ष दहालले कुनै पनि विषयलाई आफूले समाधान गर्न सक्ने किसिमको छ भने त्यसको लागि आफू सदैव तयार र प्रतिवद्ध रहेकोमा पनि जोड दिए ।