
विपक्षी दलले संवादका लागि समय दिएन: सभामुख अर्याल



काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संवादका लागि विपक्षी दलले समय नदिएको गुनासो गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलले विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको भनाइलाई लिएर विरोध गरिरहेका छन्।
यस विषयमा संवाद गर्न खोज्दा विपक्षी दलका सांसदले समय नदिएको सभामुख अर्यालले बताए। ‘हिजो पनि माननीय सदस्यहरूले समय दिनु भएन,’ सभामुख अर्यालले संसद् बैठकमा भने, ‘आज पनि कार्य व्यवस्था परामर्श समितिको बैठकमा लागि बोलाएको थिए, समय दिनु भएन।’
संवादका लागि समय नदिएपछि प्रक्रिया अघि बढाएको उनको भनाइ थियो। ‘मैले न प्रक्रिया मिचेको छु, न त कसैलाई पेलेको छु,’ सभामुख अर्यालले भने। विपक्षी दलका सांसदले विरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन्।


