एक वर्षमा साढे ११ लाख पर्यटकद्धारा नेपाल भ्रमण
काठमाडौं । हालसालै सार्वजनिक तथ्यांक अनुसार सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएको तथ्य बाहिरीएको छ। मंगलबारसम्मको तथ्यांकलाई आधार मान्दा ११ लाख ४७ हजार २४ पर्यटकहरु नेपाल पर्यटन बोर्डले जानकारी दिएको हो।
दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएको र सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन वृद्धि भएको अवस्था छ ।
सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए भने कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो ।
यता सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प रहेको भन्दै राष्ट्रसंघीय विश्व पर्यटन संगठन यूएनडब्लुटीओको पछिल्लो छ महिनाको तथ्यांकअनुसार कोभिड–१९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको बताइएको छ ।
नेपाल प्रिमियर लिग एनपिएल, विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनीले पनि पर्यटनको संख्या बढाउन मद्धत गरेको अवस्था छ ।