मधेश प्रदेशका पत्रकारहरु बीमाको दायरामा समेटीए
काठमाडौँ। मधेश प्रदेश सरकारले मधेश प्रदेशका आठ जिल्लामा कार्यरत पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने भएको छ । सोही बीमा सम्झौताका लागि शुक्रवार एक समझदारी समेत सम्पन्न भएको हो।
उक्त प्रदेशमा हाल सक्रिय पत्रकारहरूको १ लाखको स्वास्थ्य बीमा तथा ७ लाखको दुर्घटना बीमा गरिने भएको हो। जनकपुरधाम स्थित मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सम्पन्न औपचारिक छलफलमा मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीको उपस्थितीमा समझदारी गरिएको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरे एवम् प्राधिकरणको तर्फबाट निमित प्रशासकीय प्रमुख प्रसन्नराज कर्णले सम्झौतामा हस्ताक्षर गरे।
स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रुपमा गरिएको चर्चा गर्दै कार्यक्रममा मन्त्री लेखीले पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा दिइने र मधेश प्रदेशका सबै शहिद परिवारलाई एक लाखको स्वास्थ्य बीमा निःशुल्क गरिने बताइयो ।
कार्यक्रममा जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले पत्रकारिताको महत्वको बारेमा चर्चा गरे ।