नेपाल राष्ट्र बैंकले खारेज गर्यो ३ रेमिट्यान्स कम्पनीको संचालन इजाजत अनुमति पत्र
काठमाडौं । बैंक वित्तीय क्षेत्रको मुख्य नियमनकर्ता नेपाल राष्ट्र बैंकले ३ रेमिट्यान्स कम्पनीको संचालन इजाजत अनुमति पत्र (लाइसेन्स) खारेज गरेको हो। त्यसरी लाइसेन्स खारेज भएका कम्पनीहरुमा नमस्ते रेमिट इन्टरनेसनल प्रा.लि, मोर्डन रेमिट्यान्स प्रा.लि र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि परेको राष्ट्र बैंकले जानकारी दिएको छ।
यता राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ को विनियम १३ को उपविनियम ५ अनुसार यी कम्पनीहरूको लाइसेन्स खारेज गरेको अवस्थामा त्यसरी लाइसेन्स खारेज भइसेकका कम्पनीहरूसँग कुनै कसिमका कारोबार गर्ने व्यक्ति वा संस्थालाई समेत छानविन तथा अनुसन्धानको दायरामा ल्याइने जनाइएको छ । त्यस्ता व्यक्ती तथा संस्थाले ३५ दिनभित्र लिखित जानकारी दिनुपर्ने राष्ट्र बैंकको माग छ। त्यसरी दाबी गर्न कोही नआएको अवस्थामा कम्पनीहरूको बैंक जमानत स्वतः फुकुवा हुने स्पष्ट पारिएको अवस्था छ।
हाल विप्रेषण कारोबारमा पारदर्शिता, विश्वसनीयता, र नियमनको पालना नभएको अवस्थामा कडा कारबाही अघि बढाइने बताएको राष्ट्र बैंकले उक्त लाइसेन्स खारेजीको ठोस विषयमा भने खुलेको छैन । ठीक यही बेलामा नेपाल राष्ट्र बैंकले विप्रेषण सेवा लिने तथा दिने सबैलाई चनाखो रहन समेत सचेत गराइरहेको अवस्था छ ।