निर्जीवन बीमा कम्पनीले मंसिर महिनासम्म संकलन गरे १७ अर्बभन्दा बढी रकम
काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो तीन महिना र थप दुई महिना गरी पाँच महिनाको व्यावसायीक अवस्था सार्वजनिक गरेको छ । सो तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले १७ अर्बभन्दा बढी बीमा शुल्क संकलन गरेका हुन् । यता नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको तथ्यांकमा देखिन्छ।
सोही निर्जीवन बीमा कम्पनीले समिक्षा अवधिमा कुल ११ लाख २७ हजार २ सय ७२ बीमालेख जारी गरेर उक्त रकम बराबरको व्यवसाय गर्न सफल भएका हुन् । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पाँच महिनामा गत आवको सोही अवधिको भन्दा ९.२७ प्रतिशतले बढी बीमाशूल्क संकलन गरेका छन् भने १४ निर्जीवन बीमा कम्पनीहरुले गत वर्षको सोही अवधिमा १५ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यावसाय गरेको तथ्यांकमा देखिन्छ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सबैभन्दा धेरै बीमा शूल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संकलन गरेको छ । यो कम्पनीले मंसिर मसान्तसम्ममा २ अर्ब १९ करोड ९८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गर्न सफल भएको छ । यो कम्पनीले यो अवधिमा १ लाख १५ हजार ३२८ वटा बीमालेख जारी गरेर उक्त रकमको व्यवसाय गर्न सफल भएको छ ।
त्यस्तै सलिको पछि दोस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । यो कम्पनीले यो अवधिमा १ लाख २५ हजार १५५ वटा बीमालेख जारी गरेको छ । त्यस्तै शिखर इन्स्योरेन्सले पनि यो अवधिमा १ अर्ब ७४ करोड २५ लाख रुपैयाँ बीमा शूल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले १ लाख २२ हजार ९६१ वटा बीमालेख जारी गरेको देखिन्छ।