
शानदार फर्ममा दीपेन्द्रः लगातार तेस्रो अर्धशतक



काठमाडौं । शानदार ब्याटिङ फर्ममा रहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को अर्धशतक प्रहार गरेका छन् । लिग २ अन्तरगत जारी नेपाल र यूएईबीचको खेलमा उनको ब्याटबाट अर्को उत्कृष्ट इनिङ निस्किएको हो ।
यसअघिका दुई म्याचमा पनि उनले अर्धशतक प्रहार गरेका थिए । पहिलो म्याचमा यूएईविरुद्ध ७५ रन हानेका दीपेन्द्रले दोस्रोमा ओमानविरुद्ध ६० रन बनाए । नेपालले पहिलो म्याच जितेको थियो भने दोस्रोमा हारको सामना गरेको थियो । आजको म्याचमा पनि दीपेन्द्रले आफ्नो फर्मलाई निरन्तरता दिँदै धर्मराइरहेको नेपाली ब्याटिङलाई सम्हालेका छन् ।
९६ रनमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएपछि उनी ब्याटिङमा आएका थिए । आक्रमक अन्दाजमा खेल्दै उनले ५२ बलमा अर्धशतक पूरा गरे । उनले अहिलेसम्म ८ चौका हिर्काएका छन् । यो समाचार लेख्दासम्म नेपालले ५ विकेट गुमाएर २३३ रन बनाएको छ । दीपेन्द्र भने ७८ रनमा खेलिरहेका छन् ।


