
दिल्लीसँग आरसिबी पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) लाई रोमाञ्चक खेलमा ६ विकेटले पराजित गरेको छ । बेङ्गलुरुको एम. चिन्नास्वामी मैदानमा भएको खेलमा दिल्लीले एक बल बाँकी रहँदै १ सय ७६ रनको लक्ष्य पूरा गरेको हो ।
पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो। जवाफमा दिल्ली क्यापिटल्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनाउँदै जित निकालेको हो।
दिल्लीको जितमा ट्रिस्टन स्टब्स र डेभिड मिलरले निर्णायक भूमिका खेले। स्टब्सले अविजित ६० रन र केएल राहुलले ५७ रनको महत्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १५ रन आवश्यक थियो। रोमारियो शेफर्डले फालेको अन्तिम ओभरमा मिलरले लगातार ६, ६ र ४ प्रहार गर्दै टोलीलाई जित दिलाए।
त्यसअघि गुजरात टाइटन्सविरुद्धको खेलमा मिलरले अन्तिम समयमा सिंगल लिन अस्वीकार गर्दा टोलीले हार बेहोरेको थियो। तर यस पटक उनले उत्कृष्ट अन्त्य गर्दै दिल्लीलाई महत्वपूर्ण जित दिलाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले तीव्र सुरुआत गरेको थियो। विराट कोहली र फिल साल्टले टोलीलाई राम्रो सुरुआत दिलाए। कोहलीले १३ बलमा १९ रन बनाए भने साल्टले ३८ बलमा ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।
तर मध्यक्रममा दिल्लीका स्पिनरहरूले दबाब सिर्जना गरेपछि बेङ्गलुरुको रन गति घटेको थियो। दिल्लीका कुलदीप यादव र कप्तान अक्षर पटेलले महत्वपूर्ण समयमा विकेट लिँदै बेङ्गलुरुलाई ठूलो स्कोर बनाउनबाट रोके। अक्षरले २ विकेट लिए भने कुलदीपले पनि २ विकेट लिए।
आरसिबीको इनिङ्सको अन्त्यतिर टिम डेभिडले १५ बलमा २६ रन बनाए पनि टोलीले अन्तिम ओभरहरूमा ठूलो स्कोर थप्न सकेन। अन्तिम दुई ओभरमा कुनै बाउन्ड्री नआएपछि आरसिबी १७५ रनमै सीमित भएको थियो।
१ सय ७६ रनको लक्ष्य पछ्याएको दिल्लीले सुरुआतमा ठूलो झट्का बेहोरेको थियो। भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गर्दै सुरुवाती ओभरमै ३ विकेट लिए। उनले पथुम निस्संका, करुण नायर र समीर रिज्भीलाई आउट गर्दै दिल्लीलाई दबाबमा पारे।
तर त्यसपछि केएल राहुल र ट्रिस्टन स्टब्सले इनिङ्स सम्हाले। राहुलले ५७ रन बनाएर टोलीलाई खेलमा फर्काए भने स्टब्सले अन्तिमसम्म अविजित रहँदै ६० रन बनाएका थिए। अन्तिम समयमा डेभिड मिलरले आक्रामक ब्याटिङ गर्दै दिल्लीलाई रोमाञ्चक जित दिलाए।


