
एफवानसफ्ट इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल चयन



काठमाडौं । एफवानसफ्ट इन्टरनेशनलले २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सनत कुमार पौडेललाई कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ ।
पौडेलले सह–संस्थापक तथा निर्देशक सुबास शर्मापछि सीईओको जिम्मेवारी सम्हाल्नेछन् । शर्माले एक दशकभन्दा बढी समय उक्त भूमिका सफलतापूर्वक निर्वाह गरेका थिए । उनले एफवानसफ्ट ग्रुपको दृष्टिकोणलाई व्यवहारमा उतार्दै इसेवा, फोनपे लगायतका डिजिटल वित्तीय समाधानहरूको विकास र विस्तारमा महत्वपूर्ण नेतृत्व गरेका थिए ।
कम्पनीका अनुसार शर्माले अब निर्देशकको भूमिकामा रहँदै एफवानसफ्ट ग्रुपको रणनीतिक दिशानिर्देशनमा योगदान पुर्याउनेछन् ।
हाल फोननेक्स्ट प्रालिका सीईओ रहेका पौडेलले नयाँ जिम्मेवारीसँगै दुवै संस्थाको नेतृत्व गर्नेछन् । एफवानसफ्ट ग्रुपमा आबद्ध हुनुअघि उनले नबिल बैंकमा एक दशकभन्दा बढी समय कार्य गर्दै पेमेन्ट टेक्नोलोजी म्यानेजमेन्ट तथा डिजिटल ट्रान्सफर्मेसन कार्यक्रमको नेतृत्व गरेका थिए । उनी दुई दशकभन्दा बढी अनुभव भएका सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका अनुभवी विज्ञ मानिन्छन् ।


